धनगढीको राष्ट्रिय तुलसीराम माविमा कृषि पशुविज्ञानको अध्यापन सुरु
धनगढी: धनगढी उप–महानगरपालिका– ४ मा रहेको राष्ट्रिय तुलसीराम माविमा डिप्लोमा तह कृषि पशु विज्ञानको पठनपाठन सुरु भएको छ। शुक्रवार एक कार्यक्रको आयोजना गरी धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उक्त संकायको उद्घाटन गरेका हुन।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले पढ्दापढ्दै अभिभावक गरिब हुने र विद्यार्थीहरुको उमेर जाने किसिमको अप्राविधीक पढाईले शैक्षिक बेरोजगारहरु बढेका कारण धनगढीका सरकारी विद्यालयमा प्राविधीक शिक्षाको पठनपाठन सुरु गराएको बताए।
‘अहिले गरीखाने शिक्षा आवश्यक छ। धनगढी उप–महानगरपालिकाले नितिगत रुपमा नै प्राविधिक शिक्षालाई प्राथमिकता दिने कुरा समावेश गरेको छ’ नगरप्रमुख वडले भने, ‘सोही अनुसार नै विभिन्न विषयमा प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेका छौं।’
आफ्नो टिम निर्वाचित भएर आएपछि धनगढीका ७ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयको पठनपाठन सुरु गरेको नगरप्रमुख वडले बताए। उनले भने, ‘सामुदायिक विद्यालयमा सस्तो भन्दा सस्तोमा गरिबका छोराछोरीले पनि प्राविधिक शिक्षा पढ्न पाउन भन्ने चाहनाले यस्तो गरेका हौं।’ अहिले डिप्लोमा तहको पढाई न्यूनतम शुल्क लिएर पठनपाठन गर्ने व्यवस्था मिलाईएको नगरप्रमुख वडले बताए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) संगको साझेदारीमा उप–महानगरपालिका आफैले सरकारी स्तरको धनगढी पोलिटेक्नीकल ईन्सच्यूट नामक प्राविधिक शिक्षालय संचालन गरेको छ। डिप्लोमा तहको प्राविधिक शिक्षाको पठनपाठन गराउने विद्यालयलाई एक करोडको भवन निर्माणका लागि बजेट विनियोजन गरिएको कार्यक्रममा जानकारी दिइएको छ।