सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधको कारोवार रोक्न नेपाल– भारतका सुरक्षाकर्मी सक्रिय

२०७६ मंसिर १९, ११:२६ जनक विष्ट

धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने दीपेन्द्र सिहं सोमबार मात्रै लागु औषध ब्राउन सुगर सहित गौरीफन्टा नाकामा पक्राउ परे। गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त चेकजाँचका क्रममा सिंहलाई ६ दशमल ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो।

अहिले सिंह विरुद्ध भारतीय प्रहरीले नै मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ। कैलालीमा सीमावर्ती भारतीय बजारबाट लागु औषध ओसारपसार गर्ने र सीमा क्षेत्रमै लुकीछिपी सेवन गर्नेहरुमाथि दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा निगरानी बढाउदै नियन्त्रण अभियान थालिएको छ।

कैलालीमा पनि लागु औषध सेवन र ओसारपसारमा संलग्न भारतीय नागरिक पक्राउ परेका छन्। पछिल्लो समय मात्रै प्रहरीले तीनजना भारतीय विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पछिल्लो समय भयावह बन्दै गएको लागु औषध दुव्र्यसनी रोक्न सक्रियता बढाईएको दावी उनको छ।

‘कैलाली प्रहरीले पछिल्लो चार महिनाको अवधीमा मात्र लागु औषध ओसारपसार र सेवनकर्ता समेत गरी ६९ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ,’ उनले भने, ‘मंसिरमा मात्रै १२ जना पक्राउ परेका छन्। अहिले जिल्ला प्रहरी कार्यालयको हिरातमा एक सय २२ थुनुवा रहेकोमा ३४ जना लागु औषध सेवकर्ता र कारोवारी नै रहेका छन्।’

खुला सीमा नाकाका कारण कैलालीमा लागु औषध भयावह बनेको दावी गरिदै आएको छ तर अहिले भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय  प्रहरी र एसएसबीको समन्वयमा सीमा क्षेत्रमा निगरानी बढाईएको छ। जिल्लामा भारतीय सीमा क्षेत्रबाट लागु औषध ओसारपसार गरी कारोबार गर्ने क्रम बढेपछि दुव्र्यसनीमा फस्नेहरुको संख्या पनि बृद्धि हुदै गएका बेला सक्रियता बढाईएको दावी गरिएको हो। 

कैलालीमा लागु औषधको बिगबिगी हुनुको पछाडी सीमावर्ती भारतीय बजार नै प्रमुख कारक तत्व भएको कुरामा दुईमत नभएको प्रहरी अधिकारीहरुले बताउँदै आएका छन्। धनगढीमा सबैभन्दा बढि गौरीफन्टा नाका भएर लागु औषध भित्रिने गरेको छ भने कतिपय युवाहरु त लागु औषध सेवन गर्नकै लागि भारतीय बजार जाने गरेका छन्।

अहिले त्रिनगर नाकामा एसएसबी र गौरीफन्टा प्रहरीको नेतृत्व पनि फेरिएको छ। उनीहरुले पनि सीमामा संयुक्त चेकजाँचलाई निरन्तरता दिदै आएका छन्। सीमा क्षेत्रमा लागु औषधमा कडाई गरिएपछि अपराधिक गतिविधी नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ। 

लागु औषध सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएपछि धनगढीमा चोरी डकैती, लुटपाट जस्ता घटनामा पनि बृद्धि भएको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस