सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रकम असुल्दै दुई नम्बरी र चलाउन अयोग्य गाडी पनि पास

२०७६ मंसिर १६, ११:१९ जनक विष्ट

मानिस स्वस्थ छ छैन भन्ने कुरा जान्नका लागि डाक्टरले चेकजाँच गरेजस्तै कुनै पनि सवारी साधन चलाउन योग्य छ की छैन भन्ने परिक्षण गर्न मेकानिकल इन्जिनीयर डाक्टरको भूमिकामा हुन्छन्। मेकानिकल इन्जिनीयरले सवारी साधनको पार्टपूर्जा, चेसिज नम्बर, इन्जिन लगायतका यान्त्रीक पार्टसहरुको  परिक्षण गरेपछि मात्रै उक्त कुरा थाहा हुन्छ।

तर यातायात व्यवस्था कार्यालय धनगढीमा भने लामो समयदेखि अप्राविधिक व्यक्तिलाई बिचौलियाको भूमिकामा राखेर सवारीको मेकानिकल परिक्षण गरी सवारी जाँचपास गरिदै आएको छ। सवारी साधनको प्राविधिक पक्षको कुनै जानकारी नै नभएका सुरेश सावदले गरेको सिफारिसका आधारमा मोकानिकल इन्जिनीयर रामचन्द्र विनाडीले जाँचपास गर्दै आएका छन्।

धनगढीमा प्राविधिक ज्ञान नै नभएका  बिचौलियालाई गैर कानूनी रुपमा यातायात कार्यालयले काममा लगाएपछि ठुलो आर्थिक चलखेल भएको आशंका गरिएको छ। बिचौलिया मार्फत रकम असुल्दै दुई नम्बरी र चलाउन अयोग्य गाडी समेत पास गर्दै आर्थिक अनियमितता गरेको आशंका गरिएको हो।

तर उक्त कुरा मिडिया मार्फत सार्वजनिक भएपछि आवश्यक निर्देशन दिदै रोक्न भनिसकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख केशवदत्त जोशीले यातायात कार्यालयमा गैर कर्मचारी त्यसमा पनि अप्राविधिक व्यक्तिले सवारी जाँचजास गरिरहेको समाचार आएपछि ध्यानाकर्षण भएको बताए।

उनले यातायात कार्यालयलाई उक्त विषयमा कारण माग गर्दै रोक्न  निर्देशन दिएको पनि जानकारी दिए। तर लामो समयदेखि बिचौलिया राखेर सवारी जाँचपास गर्र्दै आएको यातायात कार्यालयले रकमको चलखेलमा अहिले सम्म दुई नम्बरी र चलाउन अयोग्य गाडी समेत पास गरेको आशंका गरिएको हो।

मेकानिकल इन्जिनीयरले सवारीको अवस्था परिक्षण नगरीकन बिचौलियाले अवलोकन गरेको आधारमा फाईलमा हस्ताक्षर गरी पास गर्ने गरेका कारण आर्थिक चलखेल समेत गरिएको आशंका गरिन थालेको हो। सवारी साधनको इन्जिन लगायतका अन्य पार्टपूर्जा सहितको यान्त्रीक परिक्षणमै लापरवाही गरिएपछि प्राविधिक कारणले हुने दुर्घटनाको संख्या बृद्धि हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले इन्जिन नै सवारी साधनको मुटु भएको बताए। उनले गाडीको इन्जिन लगायतका उपकरणको बेला–बेला परिक्षण गर्न आवश्यक रहेको जनाए।  यातायात कार्यालयले भने बाहिर आएको नभएको भन्दै कामको चापका कारण सहयोगीलाई प्रयोग गरेको हुनसक्ने अभिव्यक्ति दिदै आएको छ।

जसलाई यातायात कार्यालयको सबैभन्दा ठुलो लापरवाहीका रुपमा लिईएको छ। यान्त्रीक गडबढीका कारण हुने सवारी दुर्घटनाको जिम्मेवारी यातायात कार्यालय र मेकानिकल इन्जिनीयरले लिने की नलिने भन्ने प्रश्न समेत उब्जिएको छ। तर बिचौलियालाई सहयोगीको रुपमा राखेर प्राविधिक कर्मचारीको दरबन्दी भने रिक्त छ।

मेकानिकल इन्जिनीयर सहित सवारी जाँचपास शाखामा तीनजना प्राविधिकको दरबन्दी भएपनि दुई पद रिक्त छन् तर कुनै पहल भएको छैन्। यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख लक्ष्मण शाहले भने प्राविधिक जनशक्ति पदपूर्तीका लागि मन्त्रालयलाई लेखि पठाएको दावी गरे।

यता, प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात महाशाखाले भने प्राविधिक जनशक्ति पदपूर्तीका लागि पहल भईरहेको जनाएको छ। महाशाखाका प्रमुख केशवदत्त जोशीले प्राविधिक जनशक्ति व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालयमा प्रस्ताव गरिएको बताए।

उनले मन्त्रीपरिषद् बैठकबाट प्रस्ताव स्वीकृत भए चाडै कर्मचारी व्यवस्थापन गरिने दावी गरे। अहिले प्रदेशमा हुने सवारी दुर्घटनामा चालकलाई मात्र दोषी देखाउदै प्रहरी, यातायात र सडक कार्यालय लगायतका निकाय पन्छीने गरेका छन्।

अन्य कारणबारे भने खोजी नहुने परिपाटी छ। तर यातायात कार्यालयमै खुलेआम बिचौलिया मार्फत सवारी जाँचपास जस्तो गम्भीर र ठुलो गैरकानूनी काम भईरहेका बेला सम्बन्धीत निकाय मुकदर्शक बनेका छन्। धेरैले सवारी दुर्घटनाको मुख्य दोषी नै यातायात कार्यालय भएको आरोप लगाउदै आएका छन्। 
 

 
    

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस