सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी यातायातमा प्राविधिक ज्ञान नभएका बिचौलियाबाट सवारी जाँचपास

२०७६ मंसिर १४, ११:३५ जनक विष्ट

यातायात व्यवस्था कार्यालय धनगढीले मेकानिकल इन्जिनीयरमा रामचन्द्र विनाडीलाई करार सेवामा नियुक्त गरेको भएपनि सवारी जाँचपासको काम भने सुरेश सावद भन्ने व्यक्तिले गर्दै आएका छन्। सावदले यातायात कार्यालय भित्रै दैनिक साना तथा ठुला सवारी साधनको जाँचपास गर्दै आएका छन्।

सेवाग्राहीको फाईल हातमा लिएर सावदले नै सवारी साधनको पार्टपूर्जा, चेसिस नम्बर, इन्जिन नम्बर लगायतका पार्टसहरुको जाँच गर्छन। मेकानिकल इन्जिनीयरको अनुपस्थितीमा सवारी जाँचपास गर्दै हस्ताक्षरका लागि मात्र फाईल पेश गर्दै आएको कुरा स्वंयम सावदले स्वीकार गरेका छन्।

उनले भने,‘मैले गाडीको अवस्था कस्तो छ भनेर हेर्ने मात्र हो, हस्ताक्षर त इन्जिनीयरले नै गर्नुहुन्छ, फाईल बुझाउँछु।’व्यवस्थापन संकायमा स्नातक तह उत्र्तिण गरेको बताउने सावद आफैमा प्राविधिक ज्ञान भएको व्यक्ति भने होईनन् तर चार वर्षदेखि यातायात कार्यालयमा काम गर्दै आएको उनको दावी छ।

सुरुका दिनमा कार्यालयमा हुने सेवाग्राहीको भीडभाड व्यवस्थापन गर्दै आएको थिए,‘अहिले इन्जिनीयरसँग हेरेर सिकेपछि सवारी जाँचपासको काम थालेको हुँ।’ सीप सिकेको आधारमा आफूले सवारी साधनको मेकानिकल परिक्षण गर्दै आएको बताएपनि सावदले आफ्नो योग्यता भने प्राविधिक नभएइको जनाए। तर यातायात व्यवस्था कार्यालयले भने सावद आफ्नो कर्मचारी नभएको बताउँदै आएको छ।

मेकानिकल इन्जिनीयर रामचन्द्र विनाडीले सावदलाई सहयोगीको रुपमा मात्रै राखिएको बताए। तर सावदलाई आफैले सवारी साधन जाँच पासको काम पनि सिकाएकाले कामको चाप धेरै भएकाले बेला सहयोग गर्दै आएको जिकिर गरेका छन्।

‘फाईलमा हस्ताक्षर आफै गर्छु, भाईले सहयोग मात्रै गर्नुहुन्छ, कामको चाप धेरै हुने हुँदा मात्र सहयोग लिएको हुँ।’ उनले दिनेश खबरसँग भने। एकजना अप्राविधिक मान्छेले महिनौदेखि सवारी जाँचपास गर्दै आएको विषयमा यातायात व्यवस्था कार्यालय धनगढी भने बेखबर जस्तै देखिएको छ। कार्यालयले मेकानिकल इन्जिनीयर विनाडीले सहयोगी सम्म राखेको कुरा जानकारीमा भएपनि अन्य विषयमा थाहा नभएको प्रतिक्रिया दिएको छ।

सावद आफ्नो कर्मचारी समेत नभएकाले  उप्रान्त सवारी जाँचपासको काम गर्न नदिने बताउँदै यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख लक्ष्मण शाहले आफू आउनु भन्दा पहिलेदेखि सावद कार्यरत रहेको बताए। तर आफ्नो कर्मचारी भने नभएको जनाए।

उनले भने,‘सहयोगीको रुपमा राखेको सुनेको छु, अब कहिले कही सवारी जाँचपास पनि ग¥र्यो होला तर अब भने हामी रोक्छौँ।’कुनै पनि गाडीको इन्जीन, अन्य पार्टपूर्जा ठिक छ की छैन भन्ने कुराको परिक्षणबाट मात्रै सवारी साधनको अवस्थाबारे सबै कुरा जानकारी पाउन सकिन्छ। यातायात व्यवस्था कार्यालयले सवारी जाँच गरेपछि मात्रै चलाउने योग्य देखिएमा पास गर्नुपर्ने हुन्छ तर धनगढीमा भने प्राविधिक ज्ञान नै नभएका व्यक्तिलाई सवारी साधनको परिक्षण गराउन दिईएको हो।     

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस