सुदूरपश्चिममा प्रदेश सरकारद्धारा मठ मन्दिरमा ३२ करोड खर्च, मन्दिरको बजेटले घर निर्माण
बसन्तप्रताप सिंह र लोकेश साउद : खोज पत्रकारिता केन्द्र
सुदूरपश्चिम प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले बैतडीको पाटन नगरपालिका–६ स्थित ‘देवझाडी मन्दिर’ को पर्खाल निर्माण गर्न आर्थिक वर्ष २०७५र७६ मा रु३ लाख विनियोजन ग¥यो। तर त्यहाँ ‘देवझाडी मन्दिर’ नै छैन। त्यसपछि त्यहाँका वडाध्यक्ष राजेन्द्र बिष्टले विनियोजित बजेट देवथली मन्दिरको पर्खाल बनाउन सिफारिश गरे।
‘देवथली मन्दिरको पर्खाल निर्माण’ का लागि सोही मन्त्रालयबाट गत आर्थिक वर्षमै रु ४ लाख ७५ हजार विनियोजन भएको थियो। “देवझाडी मन्दिर नै भेटिएन त्यसैले देवथली मन्दिरमा तारबार गर्न सिफारिश दिएँ” वडाध्यक्ष बिष्टले भने। बझाङको दुर्गाथली गाउँपालिका–७ दौला गाउँ ९साविकको सैनपसेला गाविस० को गोरखनाथ मन्दिर पनि गत वर्ष पर्यटन मन्त्रालयले सार्वजनिक गरेको देशका १०० वटा उत्कृष्ट गन्तव्य सूचीमा प¥यो। संघीय सरकारले उत्कृष्ट १०० मा पारेको त्यो ‘गन्तव्य’ बारे स्थानीय चाहिं अनभिज्ञ थिए।
दौला गाउँकी धनसरी दौल्याल भन्छिन, “यो गाउँको कुन मन्दिरलाई गोरखनाथ भन्छन, मलाई थाहा भएन।” स्थानीयलाई थाहा नभएको ‘गोरखनाथ’ मन्दिर करीब ४० स्थानीय सिंह परिवारले पूजा गर्ने पारिवारिक मन्दिर हो। प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहको घरबाट करीब ५० मिटरमा गोरखनाथ मन्दिर छ।
यो मन्दिर के आधारमा उत्कृष्ट १०० गन्तव्यमा प¥यो कसैले बताउन सक्दैनन्। यसै मन्दिरको पूर्वाधार विकासका लागि गएको आर्थिक वर्षमा गोरखनाथ मन्दिरमा रु।५० लाख खर्च गरिएको छ भने चालु आर्थिक वर्षमा थप रु ५० लाख विनियोजन गरिएको छ।
सुदूरपश्चिम प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ मा मात्रै मठ–मन्दिर र देवीथानका लागि करीब रु३२ करोड ७७ लाख खर्च गरेको छ। मन्त्रालयले पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकासका नाममा ९ जिल्लाका ३५७ मन्दिरमा त्यो रकम खर्च गरेको हो। उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्टको गृह जिल्ला बैतडीमा मात्रै रु३ करोड २० लाखमा ६७ वटा मन्दिर निर्माण तथा मर्मत गरिएका छन्।
मन्त्री भट्टले आफ्ना माइती, मावली र नातागोताले मात्र पूजा गर्ने व्यक्तिगत मठ तथा देवीथानमा समेत रकम हालेकी छन्। मन्दिर निर्माण र मर्मतका लागि सुदूरपश्चिमका अन्य जिल्लामा पनि मन खोलेर पैसा खर्च गरिएको छ। कैलालीमा ४५, अछाममा ४७, बझाङमा २४, कञ्चनपुरमा २६ वटा मन्दिरमा बजेट खर्च गरिएको छ।
मन्त्री भट्टले मन्दिर निर्माण र मर्मतमा प्रशस्त बजेट छुट्याएको स्वीकार गर्दै सबै जिल्लालाई समानुपातिक रूपमा बजेट वितरण गरिएको बताइन्। केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०६६÷६७ अनुसार सुदूरपश्चिम देशको सबैभन्दा गरीब प्रदेश हो।
सुदूरपश्चिमको ३३.९ प्रतिशत जनसंख्या अहिले पनि गरीबीको रेखामुनि छ। २६ लाख १५ हजार ४४८ जनसंख्या रहेको यो प्रदेशका १६ लाख २९ हजार २०० ले वर्षभरि पेटभरि खान नपाउने तथ्याङ्क सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७६ असारमा सार्वजनिक गरेको थियो।
यसरी समृद्धिका अधिकांश सूचकमा पछि परेको सुदूरपश्चिम प्रदेशका स्थानीय तह र प्रदेश सरकार भने देवीथान र मन्दिर बनाउन, मर्मत गर्न बजेट खन्याइरहेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टको गृह जिल्ला डोटीमा ४५ मन्दिरका लागि रु२ करोड २२ लाख १० हजार हालिएको छ।
यसैगरी बाजुरामा २२, दार्चुलामा २५ र डडेल्धुरामा १४ वटा मन्दिर निर्माण तथा मर्मत गरिएको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेशका सांसदले पूर्वाधार विकास कार्यक्रमबाट ९ जिल्लामा त्यस क्षेत्रका ६५ वटा मन्दिर निर्माणका लागि रु५ करोड ५२ लाख हालेका छन्।
यसरी यो खोजमा परेका सुदूरपश्चिम प्रदेश सरकार, संघीय र प्रदेश सांसद अनि बैतडी र बझाङका २२ स्थानीय तहले मात्रै आर्थिक वर्ष २०७५र७६ मा मठ–मन्दिर र देवीथान निर्माण तथा मर्मतमा रु।६४ करोड ९० लाख ५० हजार लागनी गरेका छन्।
सांसदहरूले यस वर्ष स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट पनि मन्दिरमै हालेका छन् । प्रतिनिधिसभाका सांसदले वितरण गर्ने रु।६ करोडमध्ये चालु आर्थिक वर्षमा रु।५१ लाख बझाङका मन्दिरमा वितरण गरेका छन् । २५ कात्तिक २०७६ मा सांसदहरू भैरवबहादुर सिंह, आशाकुमारी विक र प्रकाशबहादुर रसाइली सहितको बैठकले बझाङका पाँचवटा मन्दिरमा उक्त रकम वितरण गरेको हो।
बझाङ–बैतडी बाहेक सुदूरपश्चिमका अरू सात जिल्लाका सबै स्थानीय तहले पछिल्ला दुई आर्थिक वर्षमा मठ–मन्दिरमा गरेको लगानी साढे दुई अर्ब रुपैयाँ भन्दा बढी भएको नेपाल पर्यटन बोर्डका सदस्य समेत रहेका सुदूरपश्चिमका पर्यटन व्यवसायी कृष्णबहादुर महरा बताउँछन्।
“मन्दिरहरू निर्माण र मर्मतमा यति रकम खर्च हुनु आश्चर्यको कुरा हो। यहाँ मन्दिरको नाममा कार्यकर्ताहरूलाई रकम बाँडेर बजेट दुरुपयोग गरिएको छ” महराले भने “सुदूरपश्चिम प्रदेश पर्यटनमा पछाडि पर्नुमा स्रोत अभाव भन्दा पनि स्रोतको सदुपयोग हुन नसक्नु मुख्य कारण हो।”
अरू दृष्टान्त हेरौं।
बैतडी सदरमुकाम दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित ऐतिहासिक ‘पंचदेवल’ मन्दिर संरक्षणमा कसैले ध्यान दिएको छैन। तर पंचदेवलको १०० मिटर पश्चिमको ३० बोगटी परिवारले पूजा गर्ने ‘दुर्गा मन्दिर निर्माण’ गर्न दशरथचन्द नगरपालिकाले २०७४÷७५ मा रु६ लाख खर्च गरेको छ।
त्यसमा प्रदेश सरकारले गत वर्ष पर्खाल थप्न रु३ लाख ८० हजार खर्च ग¥यो। असार मसान्तमा निर्माण सम्पन्न भएको पर्खालको केही भाग साउन महीनामै भत्कियो। तथापि मन्त्रालयले त्यो योजना फरफारक गरिसकेको छ। पर्यटकीय गन्तव्यको पहिचान पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिकाभित्रका १४ योजनामध्ये पंचदेवलको तीन किलोमिटर आसपास क्षेत्रभित्र मात्र ९ वटा योजना परेका छन्।
त्यसको लागि आर्थिक वर्ष २०७५÷७६ मा रु६१ लाख ५ हजार खर्च भएको छ। कतिसम्म भने, निर्माण सम्पन्न भइसकेका ठाउँमा पनि उस्तै कामको लागि प्रदेश मन्त्रालयले रकम विनियोजन गरेकोे छ। आर्थिक वर्ष २०७४र७५ मा दशरथचन्द नगरपालिका–४ ले जगन्नाथ मन्दिरको सिंढी निर्माण गरिसकेको थियो।
तर पर्यटन मन्त्रालयले गत आर्थिक वर्षमा त्यही सिंढी निर्माण गर्न रु३ लाख हालेको थियो। स्थानीयले सिंढी निर्माण गर्ने सम्झौता गरेर मन्दिरको छानो बनाए । स्थानीय राजु भुल भन्छन्, “योजना त सिंढी निर्माणको लागि भनेर आएको थियो। हामीले छानो बनायौं । आइसकेको योजना फिर्ता पठाउन भएन।”
पितृ मन्दिरमा पैसा
बैतडीकै दशरथचन्द नगरपालिका–५ को रिचपलामा रहेको वामनी आमा मन्दिर निर्माणका लागि पर्यटन मन्त्रालयले रु।४ लाख ७५ हजार खर्च गरेको छ। यो रकमले मन्दिरमा तीनवटा गेट निर्माण गरिएको छ। वामनी आमा मन्दिरमा स्थानीय भट्ट समुदायका ७० घर परिवारले पूजाआजा गर्छन्।
बैतडीमा यस्ता पारिवारिक पितृहरूको नाममा बनेका मन्दिरलाई पनि पर्यटकीय गन्तव्य भन्दै प्रदेश सरकारले बजेट हालेको छ। रिचपलाको छिमेकी सुन्दरघर गाउँमा रहेको वामन मन्दिरमा पनि रु४ लाख ७५ हजारमा धर्मशाला निर्माण गरिएको छ।
मन्दिरमा पूजाआजा गर्दा राति बस्न सजिलो होस् भनेर धर्मशाला निर्माण गरिएको स्थानीय धनञ्जय भट्ट बताउँछन्। बैतडीकै सुर्नया गाउँपालिका र पाटन नगरपालिकाको सिमानामा पर्ने पात्ताल भूमेश्वर गुफा जाने बाटो नजिक गत वर्ष महायज्ञ गरिएको थियो। स्थानीय श्रमदानमा बनाएको सो मैदानको लागि गत आर्थिक वर्षमा प्रदेश मन्त्रालयबाट बजेट आयो।
‘पात्ताल भूमेश्वर पर्यटकीय क्षेत्र गाडी पार्किङ निर्माण’ शीर्षकमा रु४ लाख ७५ हजार विनियोजन भयो। तर कुनै नयाँ काम गरिएन। त्यो रकमले गत वर्ष फिल्ड निर्माण गर्दा खर्च भएको करीब रु३ लाख उधारो तिरिएको उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र पाण्डे बताउँछन्।
उनका भनाइमा, यो वर्ष १७ घण्टा डोजर चलाएर फिल्ड सम्याउने काम गरेको र त्यसबापत रु१ लाख ३० हजार डोजरलाई तिरिएको छ। पाण्डे भन्छन्, “डोजरले काम गरेको रकम त तिरियो, अघिल्लो वर्ष काम गर्ने मजदूरको रु।३ लाख तिर्नै बाँकी छ।”
सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय गन्तव्यको पहिचान पूर्वाधार निर्माण र कार्यान्वयन कार्यक्रम अन्तर्गत गत वर्ष बझाङको दुर्गाथली गाउँपालिका–१, चिमाडीगाउँमा बाठपाला मुथीपाटा मन्दिर निर्माणका नाममा रु।१४ लाख विनियोजन गरेको थियो।
तर त्यो रकमले बाठपाला मन्दिरमा कुनै काम गरिएन। त्यो मन्दिर नजिकैको खड्क चिमाडीको घर निर्माणमा उक्त रकम खर्च गरियो। केही वर्ष पहिला त्यही ठाउँमा चिमाडीको घर रहेको र त्यो भत्किए पछि अहिले प्रदेशको बजेटले त्यहाँ नयाँ घर बनाइएको हो।
प्रदेश सरकारको लगानीमा दुईकोठे घर बनाइएको स्वयं चिमाडी पनि स्वीकार्छन्। भन्छन्, “एउटा कोठा हल जस्तो बनाएका छौं । अर्को कोठा सुत्न बनाएको हो।” तर निर्माण समितिका अध्यक्ष सत्य चिमाडीका श्रीमान् परमानन्द चिमाडी (नेकपाका जिल्लास्तरका नेता)भने उक्त घर नै मन्दिर भएको दाबी गर्छन्।
उनी भन्छन, “घर जस्तो देखेर त्यसो भनेका होलान् त्यो मन्दिर नै हो। माथि गजुर हाल्ने काम बाँकी रहेकोले मान्छेलाई भ्रम परेको हुनसक्छ।”हुँदाहुँदा सुदूरपश्चिम प्रदेशको पर्यटन मन्त्रालयले मसानघाटलाई समेत पर्यटकीय गन्तव्य भन्दै बजेट विनियोजन गरेको भेटियो।
बैतडीकै दोगडकेदार गाउँपालिका–६, पंज्युनयामा रु२ लाख खर्च गरेर ‘मसानीबाबा मसानीघाट निर्माण’ गरिएको छ। यो पनि पर्यटकीय गन्तव्य पहिचान तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नै खर्च भएको रकम हो।
‘मसानघाट निर्माण गर्न योजना आएको थियो’ उपभोक्ता समिति अध्यक्ष प्रकाश कार्की भन्छन्, “चमेलिया नदीको बहाव कहिले यता कहिले उता हुने भएकाले मसानघाटमै मलामीहरूका लागि बस्ने प्रतीक्षालय बनाएका छौं।”