सुदूर नेपाललाई विश्वसँग जोड्दै

धितोपत्र र बिमा कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटी छाड्न आदेश

२०८३ साउन १, ०७:३६ खबर संवाददाता

काठमाडौँः जिल्ला अदालत काठमाडौंले बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवालविरुद्ध दायर धितोपत्र तथा बिमासम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले साता लामो सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गर्दै बिमासम्बन्धी कसुरमा दीपक भट्टसँग दुई करोड रुपैयाँ र सुलभ अग्रवालसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको हो।

यस्तै, धितोपत्रसम्बन्धी कसुरमा सुलभ अग्रवालसँग थप डेढ करोड रुपैयाँ तथा दीपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ।

यसैबीच, नक्कली असाइनमेन्ट (असाइनमेन्टसम्बन्धी कागजात) प्रयोग गरी हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्री गरेको आरोपमा दायर छुट्टै मुद्दामा अदालतले सुलभ अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

यद्यपि धरौटी आदेश भए पनि भट्ट र अग्रवाल तत्काल रिहा हुने छैनन्। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतको आदेशअनुसार हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।

उनीहरूविरुद्ध बिहीबार एमाले नेता विष्णु पौडेलसँग जोडिएको कारोबारसम्बन्धी अर्को छुट्टै मुद्दासमेत दायर गरिएको छ।

कमेन्ट लोड गर्नुस