धनगढीमा एक रात बिताएर आईजीपी खनाल, किन फर्किए काठमाडौँ ?
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल सुटुक्क धनगढी पुगेर काठमाडौँ फिर्ता भएका छन्। बीहिबार साँझ प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका खनाल झण्डै २४ घण्टे बसाई सकेर काठमाडौँ फिर्ता भएको प्रहरी स्रोत बताउँछ।
बीहिबार साँझ धनगढीको फ्लोरा होटल पुगेका खनाल शुक्रबार फर्किए तर खनालले धनगढी बसाईका क्रममा के गरे भन्ने कुरा खुलेको छैन्। प्रहरी स्रोतका अनुसार बीहिबार राति आईजीपी खनाल फ्लोरा होटलमै बसेका थिए।
त्यहाँ उनले कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक दिनेश आर्चायसँग छलफल गरेको प्रहरी स्रोत बताउँछ। स्रोतले भन्यो,‘आईजीपी खनाल र कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक आर्चायबिच छलफल भएको कुरा साँचो हो तर के विषयमा छलफल भयो भन्ने कुरा जानकारी भएन।’
तर कतिपयले आईजीपी खनालको धनगढी बसाईलाई अर्थपूर्ण भनेका छन्। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको दोषी पत्ता लगाउन नसकेर बदनाम भएको प्रहरीले अहिले पनि अनुसन्धानलाई निरन्तरता दिएको छ।
धनगढी बसाईका क्रममा पनि उनले निर्मला प्रकरणकै घटनामा भईरहेको अनुसन्धानको प्रगति र अन्य विवरणबारे जानकारी लिएको प्रहरी स्रोतको भनाई रहेको छ। अछाममा कार्यालय भवन उदघाटनका लागि सुदूरपश्चिम आएका खनाल धनगढीबाटै फर्किएका हुन्।
खनालसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रमुख एवं डीआईजी निरज शाही र सचिवालयका डीएसपी गौतम केसी पनि धनगढी पुगेको स्रोतको भनाई छ। खनाल सहितका अधिकारी शुक्रबार नेपालगन्जको उडानबाट काठमाडौँ फर्किएका हुन्।