बेपत्ता भएका पत्रकार तेजु खड्काको सामान आफन्तलाई बुझाइयो
१४ महिना अघि बेपत्ता भएका पत्रकार तेजु खड्काको सामान आफन्तलाई बुझाइएको छ। उनको परिचयपत्र, पर्स, मोबाइल, झोलालगायतका सामान आफन्तलाई बुझाएको बाजुरा प्रहरीले जनाएको छ। परिचय खुल्ने सामान भेटिएपछि बुधबार बाजुरा सदरमुकाम मार्तडी पुगेका आफन्तलाई उक्त सामान बुझाइएको जनाइएको छ।
१४ महिना अघि बाजुराको बूढीनन्दा दर्शनका लागि गएर बेपत्ता भएका खड्काको मंसिर २ गते बाजुराको बूढीनन्दा नगरपालिका ३ स्थित लौरीबिनायकको जंगलमा परिचय खुल्ने सामग्री र कंकाल भेटिएको थियो। आफन्तलाई सामग्री बुझाइए पनि कंकाल भने विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी गरिएको छ। आफन्तले उक्त कंकाल बेपत्ता खड्काको हो वा होइन पत्ता नलागेसम्म नबुझ्ने बताएपछि डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालमा पठाउन लागिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डिएनएका लागि बेपत्ता पत्रकार खड्काकी आमा मन्दरी देवी खड्काको रगतको नमुना लिइएको छ। उनकी आमा खड्कासहित बाजुरा गएका आफन्तले सत्यतथ्य छानबिनका लागि प्रहरीलाई जाहेरीसमेत दिएको डिएसपी भाटले बताए। उनी बेपत्ता भएदेखि आफन्त, पत्रकार महासंघ, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले लामो समयसम्म खोजी गरेका थिए।