सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा किसानले गहुँ छर्ने मौका छोपी अवैध बिउको कारोबार

उत्तरबेहडीमा उम्रिद्रै गरेको गहुँ
उत्तरबेहडीमा उम्रिद्रै गरेको गहुँ
२०७६ मंसिर ६, ११:२० जनक विष्ट

कैलालीमा बिउ वितरक फार्म र सहकारीले भारतबाट अवैध रुपमा गहुँको बिउ आयात गरी बिक्रि गरिरहेको आरोप लागेको छ। नेपाल सरकारले सूचीकृत गरेका बिउ मात्रै बिक्रि वितरण गर्न पाउने प्रावधान भएपनि कैलालीमा भने किसानले गहुँ छर्ने मौका छोपी राम्रो उत्पादन दिने नाममा बिक्रेताहरुले अवैध बिउको कारोबार गरिरहेको आरोप लागेको हो।

गरिमा जातको धानले उत्पादन नदिएपछि देशैभरका किसानहरु आजित भएका बेला जिल्लामा  भने अवैध गहुँको बिउको कारोबार मौलाएको हो। किसानहरुको गहुँ रोप्ने समयको मौका छोपी जिल्लाका बिउ वितरण फार्म, सहकारी संस्थाले भारतबाट अवैध बिउ ल्याएर बिक्रि वितरण गरिरहेको आरोप स्थानीयको छ।

उनीहरुले नेपालमा बिक्रि गर्न अयोग्य र सूचीकृत नै नभएका बिउ ल्याएर राम्रो उत्पादन दिने आश्वासन बाडेर किसानहरुलाई बिक्रि गरिरहेका हुन्। उक्त कुरा स्वयंम बिउ व्यवसायीहरुले पनि स्वीकार गरेका छन्। तर खुल्ला सीमा नाका मुख्य समस्याको रुपमा देखा परेको दावी उनीहरुको  छ।

नेपाल बिउ व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष केदार खड्काले सीमावर्ती बजारबाट बिउ ल्याएर बिक्रि गरिरहेको कुरामा सत्यता भएको जनाए। तर उनले खुला नाका हुँदा नियमनमा चुनौती भएकाले स्थानीय प्रशासनले नियमनमा ध्यान दिनुपर्ने बताए।

प्रचलीत कानून अनुसार नेपाल सरकारले सूचीकृत गरेका बाहेक कुनै पनि बिउको कारोबार गर्न पाईदैन्। यद्यपी राम्रो उत्पादन दिने आशामा किसानहरुले खरिद गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि महाशाखा प्रमुख गोकुल बोहोराले अवैध बिउले उत्पादन नदिएमा गरिमा धान जस्तै किसानहरुको लगानी र परिश्रम वालुवामा पानी हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे।

कुनै सूचीकृत नभएको बिउको बिमा पनि नहुने भएकाले किसानहरुले पछुताउनुपर्ने अवस्था अउन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्। तर सूचीकृत नभएको बिउको कारोबार गर्नुपनि गैरकानूनी काम भएको उनी बताउँछन्। अहिले स्थानीय तह, प्रदेश र संघिय सरकार मातहतका निकायमा छुट्टाछुट्टै बजार अनुगमन गर्ने संयन्त्र पनि बनाईका छन् तर ती संयन्त्र निष्क्रीय हुँदा अवैध कारोबारीहरु मौलाएको पनि अनुमान गरिदै आएको छ।

जिल्ला प्रशासन कार्यालय लगायतका सम्बन्धीत निकायको उदासिनताको फाईदा उठाउदै अवैध बिउको कारोबारमा कृषि फार्म, सहकारी संस्थाहरु उद्दत भएको आशंका धेरैको छ। तर कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले भने बजारमा अवैध बिउको कारोबार गरेको भेटिए कारवाहीको दायरामा ल्याउन तयार रहेको उल्लेख गरे।

उनले त्यस्तो देखिएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी वा उजुरी गर्न पनि आग्रह गरेका छन्। जानकारी दिने व्यक्तिको विवरण गोप्य राखिने प्रजिअ बोहोराले बताए। यस्तै किसानले पनि यस्ता कुरामा सचेत आग्रह गरिएको छ।    

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस