सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा युवती बेचबिखनका लागि भारत लैजाने नेकपाका वडा कमिटि अध्यक्षलाई सांसदको संरक्षण

२०७६ मंसिर ५, १२:२१ खबर संवाददाता

कैलालीको गौरीफन्टा नाकाबाट बेचबिखनका लागि युवतीलाई भारत लैजाने नेकपाका वडा कमिटि अध्यक्ष फरार गरिएको छ। बझाङको वित्थडचिर गाउँपालिका १ का नेकपाका वडा कमिटि अध्यक्ष रमेश बोहोरा फरार भएका हुन्। बोहोरालाई नेकपाकै नेताको संरक्षणमा फरार गरिएको आरोप लागेको हो।

विवाह गर्ने प्रलोभन देखाएर मंसिर ३ गते भारत लैजादै गरेको अवस्थामा गौरीफन्टा नाकाबाट माईती नेपालले बैतडीको सिगास गाउँपालिकाकी बिन्दु (नाम परिवर्तन) लाई उद्दार गरेको थियो। तर युवतीसँगै रहेका बोहोरालाई भने नेकपाका नेताकै संरक्षणमा फरार गरिएको आरोप लागेको छ।

स्रोतका अनुसार बोहोरालाई संरक्षण गर्न नेकपा बझाङका स्थानीय स्तरका जनप्रतिनिधि र प्रदेशसभा सदस्य लागि परेका छन्। ‘बोहोरालाई नेकपाका सांसदले संरक्षण गरी राखेका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन्,’पीडित युवतीका दाजु नाता पर्ने एकजनाले दिनेश खबरसंग भने, ‘अपराधीलाई जोगाउन बझाङबाट निर्वाचित भई प्रदेश सरकारको उच्च पदमा  आसिन सांसद नै लागि परेका छन्, यो कस्तो बिडम्बना।’

माईती नेपालले पनि नेताकै दबाबका कारण बोहोरालाई छोडेको आरोप लागेको छ। तर माईती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले भने युवतीलाई सोधपुछ गर्ने क्रममा उनी भागेको बताए।

अहिले बोहोरा बिरुद्ध प्रहरीमा मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गर्ने तयारी भईरहेको पनि चौधरीले बताए। युवतीलाई भने अहिले माईती नेपालको संरक्षणमा राखिएको छ।      

कमेन्ट लोड गर्नुस