सुदूरपश्चिम प्रदेशका प्रमुख समक्ष वार्षिक प्रतिवेदन प्रस्तुत
धनगढी: सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्त समक्ष प्रदेशका मुख्य महान्यायाधिवक्ता कुलानन्द उपाध्यायले आज कार्यालयको वार्षिक प्रतिवेदन पेश गरेका छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्य न्यायाधिवक्ता उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए।
नेपालको संविधानबमोजिम व्यवस्था भएको मुख्य न्यायाधिवक्ताको कार्यालयले सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो। मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएयता सर्वोच्च अदालत, उच्च अदालत दिपायल, उच्च अदालत दिपायलको महेन्द्रनगरस्थित इजलासमा समेत गरी ३२ थान मुद्दामा बहस पैरवी गरिएको मुख्य न्यायाधिवक्ता उपाध्यायले बताए।
यस्तै सोही अवधिमा १२ वटा विषयमा प्रदेश सरकारलगायतलाई लिखित कानूनी राय सुझाव दिइएको र प्रदेशका नौवटै जिल्लामा रहेका न्यायिक समितिलाई न्याय सम्पादन र कानून निर्माणका विषयमा सहजीकरण गरिएको जनाइएको छ।-रासस