सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेमा मोटरबाटो पुगेपछि कृषिजन्य बस्तुले बजार पायो

२०७६ मंसिर २, ०६:१९

कैलाली: कैलालीको चुरे गाउँपालिका–४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ ।  सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको हो। यसपालि सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन्। मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै आएका थिए ।

गत वर्ष चौमालामा प्रतिकिलो ५० का दरले सुन्तला बिक्री गरेका खैरालाका किसानले यसपालि बारीबाटै प्रतिकिलो  ९० का दरले सुन्तला बिक्री गरिरहेको स्थानीय कृषक गणेश चन्दले बताए। ‘गत वर्ष चौमालाबजार पु¥याएर पनि ३० देखि ५० का दरमा सुन्तला बेचेका थियौँ’, उनले भने ‘यसपालि बारीमै आएर व्यापारीले  ९० मा खरिद गरेर लगे।’

धनगढी, अत्तरिया वा अन्य बजारमा अन्य ठाउँको सुन्तला अहिले रु सय प्रतिकिलोका दरले बिक्री भइरहेको छ भने खैरालाको सुन्तलाको मूल्य प्रतिकिलो रु १५० रहेको छ। खैरालामा उत्पादित कृषिजन्य वस्तु धनगढी, अत्तरिया, चौमाला लगायतको बजारमा पठाइने गरेको छ। खैरालाको गर्भासम्म मोटरबाटो पुगेपछि यहाँका किसानलाई सुन्तलालगायत कृषिजन्य वस्तु बजारमा पठाउन सजिलो भएको स्थानीयवासीको भनाइ छ। -रासस

कमेन्ट लोड गर्नुस