सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा ढिलाई

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ मंसिर १, ०८:०७ कमल सावद

सुदूरपश्चिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत चालु आर्थिक बर्षका कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको छ। चालु आर्थिक वर्ष सुरु भएको चार महिना पूरा भएपनि कृषि आधुनिकीकरण परियोजना अन्तरगत यस बर्षको बजेट कार्यान्वयनको चरणमा नगएको हो।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगतको उक्त परियोजना अन्तरगत सञ्चालन हुने ब्लक र पकेट कार्यक्रमका लागि कृषक समूह र किसान छनौट गर्नुपर्ने हुन्छ तर अहिले सम्म कुन कुन क्षेत्रमा ती कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयकै टुङगो लगाएको छैन्।

चालु आर्थिक वर्ष २०७६÷०७७ मा सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपंक्षी तर्फका ९ ब्लकका लागि दुई करोड २५ लाख विनीयोजन गरिएको छ। एकमुष्ट छुट्याईएको उक्त बजेट अन्तरगत के कस्ता योजना समेट्ने हो भन्ने कुराकै टुङ्गो लगाएको छैन्।

प्रदेशको  कृषि मन्त्रायलयले परियोजना कार्यान्वयन गर्ने भएपनि चार महिना सम्म कार्यक्रम कार्यान्वयन गर्ने ठाउँकै टुङ्गो नलागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्त खकेन्द्र शर्माले जनाए। उनले छनौटको चरणमा रहेको जानकारी दिए।

परियोजना अन्तरगत कृषि क्षेत्रका लागि भने प्रदेशका ८८ वटा स्थानीय तहमा चार सय २७ पकेट र ६३ ब्लकका कार्यक्रम नयाँ सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ। चार सय २७ पकेटका लागि २१ करोड ३५ लाख र  ६३ ब्लकका लागि १५ करोड ५० लाख गरि जम्मा ३६ करोड ८५ लाख रकम संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट विनियोजन भएको छ।

तर कार्यक्रम सञ्चालनका लागि ज्ञान केन्द्रहरुले प्रक्रिया थाल्न ढिलाई गरेका छन्। ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले भने छिट्टै प्रक्रिया सुरु गरिने बताए।

सुदूरपश्चिम प्रदेशको सरकारले ओखर, तरकारी, आलु, फलफुल, सुन्तला, मौरी, सिमि, स्याउ, गहुँ, धान, मौरी, अदुवा र भटमास लगाएका लागि पकेट र ब्लकका कार्यक्रम सञ्चालन गर्नु पर्ने हो।

गत आर्थिक वर्षका पकेट र ब्लकका कार्यक्रम सञ्चालनमा गएपनि चालु आर्थिक वर्षबाट सुरु भएका नयाँ कार्यक्रम भने सुरु गर्न ढिलाई भएको हो।  
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस