धनगढी विमानस्थल भोलीदेखि एक महिना सम्म आशिंक बन्द हुने
धनगढी विमानस्थल भोलीदेखि एक महिना सम्म आशिंक रुपमा बन्द रहने भएको छ। धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिको कामलाई निरन्तरता दिन भोलीदेखि एक महिनाका लागि विमानस्थल आशिंक रुपमा बन्द गर्न लागिएको हो।
धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्गमा मर्मत सम्भार र स्तर बृद्धिको काम बाँकी रहेकाले भोलीबाट दिउँसो तीन देखि ७ बजे सम्म एक महिना बन्द रहने जानकारी दिए। बुढथापाका अनुसार गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभर ले को काम बाँकी रहेकोमा त्यसलाई भोलीदेखि निरन्तरता दिईनेछ।
यसअघि जेठमा एक महिना विमानस्थल बन्द गर्दै धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो तर त्यती बेला काम सम्पन्न नभएको भन्दै फेरी विमानस्थल एक महिनाका लागि आशिंक रुपमा बन्द गर्न लागिएको हो। विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन्।
विमान स्थल कार्यालयले दिउँसो तीन बजेदेखि ७ बजे सम्म हुने उडान अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेको छ। श्री एयरलाईन्स धनगढीका स्टेशन इन्चार्ज गजेन्द्र शाहीले विमानस्थल बन्द हुने अवधीमा यसअघि धनगढीबाट काठमाडौँका लागि ३ बजेर २५ मा भर्ने दोस्रो उडानको तालिका पनि हेरफेर गरिएको जानकारी दिए।
शाहीले विमानस्थल बन्द हुने अवधी सम्मका लागि ३ बजेर २५ मा हुने उडान दिउँसो एक बजे हुने दिनेश खबरलाई जानकारी दिए। शाहीका अनुसार श्री एयरलाईन्सले यसअघि बिहान ९ बजेर १५ मा भर्दै आएको उडान भने सोही समयमा हुनेछ।
बुद्ध एयरले भने एक महिनाको अवधीमा उडान नभर्ने जनाएको छ। बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले सो अवधीमा बिहानको उडान मात्र हुने जानकारी दिए। उनले विमानस्थल मर्मत सम्भारमा ढिलाई भए मात्र विकल्प खोजिने उल्लेख गरे।
त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधी तोकेर ठेक्का सम्झौता भएको थियो। नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ।
झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। निर्माण व्यवसायीले भने विमानस्थल मर्मत र स्तरबृद्धिको काम मंसिर भित्रै सम्पन्न गर्ने दावी गर्दै आएका छन्।