सुदूर नेपाललाई विश्वसँग जोड्दै

२४ किलोमिटर चौमाला–खैराला सडकको ट्रयाक खोल्न ११ वर्ष

२०७६ कार्तिक २८, ०२:३६ कमल सावद

सडक निर्माणको ११ वर्ष पछि कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ गर्भा दरबारमा ट्रयाक पुगेको छ। कैलालीको गौरीगंगा नगरापालिका वडा नम्बर १ चौमाला बजार देखि २४ किलोमिटर दुरी रहेको गर्भादरबार सम्म ट्रयाक खोल्न ११ वर्ष लागेको हो।

अझै स्तरीय सडक निर्माण भने भएको छैन्। केही स्थानमा चट्टानका कारण सडक साघुरो छ। जस्क कारण सवारी सञ्चालनमा समस्या हुने देखिएको चुरे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्ण मल्लले बताए। ‘गर्भा दरबार सम्म सडकको ट्रयाक पुगेको हो,’ उनले भने, ‘तर सवारी सञ्चालनमा भने अझै चुनौती छ।’ ब्याक कटिङ गर्न आवश्यक रहेको उनले बताए। वर्षातको समयमा पनि सडक सुचारु अवस्थामा राख्न नाली निर्माण गर्नु पर्ने देखिएको छ। सुगम जिल्ला कैलालीको दुर्गम गाउँपालिका चुरेको वडा नम्बर २ र ४ का जनताको सुविधाका लागि चौमाला–खैराला सडक निर्माण थालिएको हो। ट्रयाक खोल्नमा तीन करोड ६८ लाख ५० हजार बढि रकम खर्च भएको छ। गत आर्थिक वर्षमा मात्र प्रदेश सरकारले ३५ लाख विनियोजन गरेको थियो।

गत वर्ष सम्म ट्रयाक खोलिएको १८ किलोमिटर क्षेत्रको सडक स्तरबृद्धि गरेको प्रदेश सरकारको दावी छ। चुरे गाउँपालिकाको ३१ लाख बजेटले जम्मा २४ किलोमिटर सडकको बाँकी रहेको क्षेत्रमा ट्रयाक खोलेको गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले बताए। मगरका अनुसार प्रदेश सरकारको ३५ लाख वजेट पूर्ण खर्च भएको छैन्। प्रदेश सरकारको २० लाख मात्र खर्च भएको छ। कैलालीको चौमाला देखि गर्भादरबार हुँदै सहजपुर–सोल्टा सडकलाई जोड्ने योजना छ। तर विनियोजन भएको बजेटको सदुपयोग नहुँदा २४ किलोमिटर सडकको ट्रयाक निर्माणका लागि मात्र ११ वर्ष लागेको हो।

अझै गर्भा दरबार देखि शिवनगरसम्म कम्तीमा २४ किलोमिटर सडक निर्माण गर्न बाँकी छ। चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि पनि प्रदेश सरकार र चुरे गाउँपालिकाले ५०/५० लाख विनियोजन गरेका छन्। ‘चालु आर्थिक वर्षमा गाउँपालिकाबाट ५० लाख विनियोजन गरिएको छ।’ चुरे गाउँपालिकाका अध्यक्ष बुढामगरले भने। ‘हामी सडकको आवश्यक ठाउँमा पुनः कटिङ गर्छौ।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस