सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सम्झौता

२०७६ कार्तिक २७, ०४:११ खबर संवाददाता

ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार सेवा दिने उद्देश्यले राक्सिराङ गाउँपालिकाले ६० वर्ष कटेका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि घरदैलोमै उपचारको व्यवस्था गर्न आज सम्झौता गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा २०७६ सालदेखि २०७८ सालसम्म ‘आमाबुबा बचाऊ कार्यक्रम’ सञ्चालन गरी ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ध्यान दिन लागिएको हो।

यसका लागि घरदैलोमै पुगी इन्टरनेटका माध्यमबाट ज्येष्ठ नागरिक, असहाय र दीर्घरोगीको उपचार गर्ने गरी प्रतिष्ठानसँग सम्झौता भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष मल्ल र प्रतिष्ठानका प्राध्यापक डा पारस आचार्यले हस्ताक्षर गरेको छ । ‘आमाबुबा बचाऊ कार्यक्रम’ अनुसार गाउँपालिकाभित्र दीर्घरोग पालेर बसिरहेका बिरामीको विशेष निगरानी हुनेछ।

गाउँपालिकामा खटिएका स्वास्थ्य प्राविधिकले दीर्घ रोगी, असहाय तथा ज्येष्ठ नागरिकको घरमै पुगी इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरसँग भिडियो संवाद गरी स्वास्थ्य उपचार र परामर्श लिइने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष मल्लले बताए। “क्यान्सरजस्ता प्राणघातक रोग सहेर गाउँमै बसिरहेका बुबाआमाको बाँकी जीवन सहज पार्ने गरी ‘आमाबुबा बचाऊ कार्यक्रम’को अवधारणा ल्याएका हौँ”, अध्यक्ष मल्लले भने।

अध्यक्ष मल्लका अनुसार ‘आमाबुबा बचाऊ कार्यक्रम’ कार्यान्वयनका लागि गाउँपालिकामा छुट्टै शाखा स्थापना हुनेछ। शाखामा मोटरसाइकल, ल्यापटप र इन्टरनेट डिभाइससहितका हेल्थ असिस्टेन्ट र अनमीसहितका तीनजना कर्मचारी हुनेछन्। ती कर्मचारी रोगीको घरमा गएर इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरसँग सिधा कुरा गर्छन् र उपचारको व्यवस्था मिलाउँछन्। थप उपचार गर्नुपरेमा गाउँपालिकाले व्यवस्था गर्ने एम्बुलेन्सको सहायताले प्रतिष्ठानमै ‘रिफर’ गर्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष मल्ल बताउंछन्।

‘आमाबुबा बचाऊ कार्यक्रम’ले गाउँपालिकाका ज्येष्ठ नागरिकलाई बढी राहत मिल्ने गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कापरीले बताए। साबिकका सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविक गाविसतर्फ एक–एक वटा स्वास्थ्यचौकी रहेका छन्। अधिकांश चेपाङ, तामाङ र दलित समुदायको बसोबास रहेको गाउँपालिकामा भरपर्दो स्वास्थ्य केन्द्रको अभावमा स्वास्थ्य सेवाका लागि मनहरि, हेटौँंडा र भरतपुरसम्म धाउनुपर्ने बाध्यता रहँदै आएको छ। रासस

कमेन्ट लोड गर्नुस