सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोल्डस्टोर तीन वर्षदेखि अलपत्र

२०७६ कार्तिक २५, १२:३५ खबर संवाददाता

किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ। पर्वतको मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो।

गाउँपालिकाले भने रु पाँच करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ। जिल्लाका किसानले उत्पादन गरेको आलु, सुन्तला, तरकारी, खाद्यान्नलगायत स्टोर गर्ने योजनाअनुरूप तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पालामा ०७३/०७४ मा निर्माण थालिएको थियो। कोल्डस्टोर बनाउन मोदी–२ देउपुरका खेमबहादुर हमालले जग्गा दिएपछि तत्काल पाँच आना जग्गामा भवन निर्माण शुरु गरिएको हो। निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार शुरुको वर्ष रु ५० लाख विनियोजन भए पनि २४ लाख बजेट आयो।

“बजेट विनियोजन भएपछि काम थाल्यौँ”, उनल भने, “लागत मूल्याङ्कनअनुसार बजेट नआएपछि काम अघि बढेन्। अपुग बजेट माग्ने दबाब पुगेन।” दुईतले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य थियो। तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरिएपछि अलपत्र छ। अहिले भवनको भुइँ तल्लामा स्थानीयले घाँस, पराल राखेर उपयोग गरिरहेका छन्न्। भवनको बाहिरी भागमा ठडिएका रड हिउँदे र वर्षे तरकारीका लागि थाँक्राका रूपमा प्रयोग गरिएको छ। भवन बेवारिसे भएपछि ढलान र प्लास्टरसमेत काम नलाग्ने भएको छ। समयमै सम्पन्न भएको भए प्रयोगमा आइसक्ने भवन अलपत्र हुँदा उपयोग गर्न नपाएको गुनासो स्थानीयको छ। 

देउपुर जिल्लामै धेरै सुन्तला उत्पादन हुनेमा दोस्रो गाउँ हो। यहाँ वर्षेनी तीन करोडको सुन्तला उत्पादन हुन्छ। मौसममा  ३० देखि ४० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके १५० मा बिक्री हुने किसानले बताएका छन्। विज्ञले कोल्डस्टोरको न्यूनतम मापदण्डसमेत पूरा नगरी भवन निर्माण भएकाले सम्पन्न हुन समस्या देखिएको बताउँछन्। कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख एवं कृषि विज्ञ वासुदेव रेग्मीले भवनको क्षेत्रफलअनुसार क्षमता कम हुने बताए। रासस

कमेन्ट लोड गर्नुस