पुत्ला मोदीको होइन हाम्रा नेताहरुको दहन गरौँ

२०७६ कार्तिक २४, ०६:४८
अ+

नारायण अवस्थी

आजभोली नेपालमा भारतको सिमा अतिक्रमणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिनहुँ पुत्ला दहन भईरहेको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विभिन्न भातृ र भगिनी सङ्गठनहरु यो प्रकरणमा प्रतिस्पर्धा गरिरहेका छन्। अन्यले पनि यसलाई पहिलो प्राथमिकता दिएको देखिन्छ। नेपालमा गो ब्याक इन्डिया र मोदीको पुत्ला दहन गर्नुको कुनै तुक नै छैन्। जसले मोदीको पुत्ला दहन गर्दैछन् उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, लगायतको पुत्ला दहन गर्ने साहस देखाउनुपर्छ।

तर त्यसो गर्ने नैतिकता आन्दोलनकारीहरुमा छैन् किनभने अहिले उनीहरुले यो प्रकरणलाई उपयोग गरेर आफुलाई राजनीतिमा स्थापित गर्न सकिन्छ कि भनेर सडकमा मोदी र भारतका विरुद्ध चर्का नारावाजी गर्ने अवसरका रुपमा मात्रै लिएका छन्। कालापानीमा छ दशकदेखि भारतीय सेना तैनाथ छ। साठी वर्षदेखि जो अहिले राजनीतिको केन्द्रमा छन् उनीहरु नै सत्तामा आसिन छन्। कम्तीमा तीस वर्ष त उनीहरुको नै शासन सत्तामा हालीमुहाली थियो। किन कालापानी, सुस्ता लगायत ६० हजार ६ सय २७ हेक्टर अतिक्रमित भुमी फिर्ता लिन सार्थक पहल गर्न चाहेनन् या सकेनन् ?

भारतले निरन्तरको नेपाली भूमी अतिक्रमण गर्नुमा हाम्रा नेताहरुको कमजोरी छ। किन सिमा विवाद सुल्झाउन भारत र चीनसङ्ग कुटनैतिक पहल गर्न सकेनन्? सत्तालाई मात्रै सर्वोपरी ठान्ने राष्ट्र र राष्ट्रियतालाई पङ्गु बनाउने प्रमुख पात्र ओली, प्रचण्ड र देउवाहरु नै हुन कि होइनन्? किन हामी उहाँहरुलाई मुठ्ठी कसेर यो प्रश्न गर्न सक्दैनौं? महाकाली सन्धी अनुमोदन गर्दा किन कालापानी, लिम्पियाधुरा र लिपुलेकका बारेमा नेपाली नेताहरुले गहन रुपमा छातीमा हात राखेत सोच्न सकेनन्? महाकाली सन्धी पारित गराउने मुख्य पात्र ओली र देउवा नै हुन्। उहाँ दुबै कालापानी लगायतको तीन सय ७२ वर्ग किलोमीटर नेपाली भुभाग गुम्नु पर्नाका दोषी होइनन्।

खै त तिनीहरुको पुत्ला दहन गरेको? मोदीले आफ्नो देशका लागि असल गर्दा हामीले हाम्रा देशका नेताहरुको तुलना मोदीसङ्ग गरेर सच्चिन खवरदारी गर्ने कि उल्टै मोदीलाई गाली गरेर समय खेर फाल्ने? पार्टीमा लागेका कार्यकर्ता त लगाम लगायका घोडा झै हुन, सर्कसका जनावर झै हुन तर अन्य नागरिकले पनि यी परजीवी मनुष्यहरुको पिछलग्गु किन भैराख्ने? यदि नेपाल प्रतिको साच्चिकै माया छ र नेपाललाई हामी जन्मदायिनी मान्दछौँ भने हामीले ओली, प्रचण्ड, शेरबहादुरहरुको पुत्ला जलाउनु पर्छ।

देशले, जनताले यो पीडा र अपमान खेप्नुपरेको उहाँहरुको राजनीतिक बेइमानी र राष्ट्रप्रतिको बदमासीले हो। कहिले हामीले उहाँहरुलाई शिरा ठाडो पारेर, आँखामा आँखा जुधाएर यो प्रश्न गरेका छौँ कि भारतसङ्ग सिमा विवाद सुल्झाउन तपाईंहरुलाई के ले रोकेको, छेकेको छ? नेपाली भुमी भारत र चीनले अतिक्रमण गर्नुको पछाडि हाम्रा राजनीतिक दल र तिनका खास खास नेताहरुको निकम्मा पन जिम्मेवार छ। सत्ताका लागि जे पनि गर्न तयार हुने नेता पाउनु नै नेपालीहरुका लागि ठूलो अभिशाप हो। भिमसेन थापाको पालादेखी सत्तामा पुग्न जे पनि गर्न तम्सिने दुर्गुण नेपालीहरुले अहिले पनि कोसी, काली या कर्णालीमा बिसर्जन गर्न सकेका छैनन्।

मोदीको पुत्ला दहन गर्दैमा, भारतका विरुद्ध “गो ब्याक इन्डिया“ को चर्को नारा लगाउदैमा, टायर बाल्दैमा भारतले कालापानी लगायतको अतिक्रमीत जमिन छोड्ने होईन। हामी भित्रको राष्ट्रियता जगाउन पनि भारतले नै काम गरिदिनु पर्ने,चाइनाले नै केही गरि दिनुपर्ने अनि कुनै विदेशीले अपशब्द बोली दिनुपर्ने बिडम्बनाको हामीले कहिलेसम्म सिकार भैराख्ने? राष्ट्रियताको भावना ४ वर्ष अगाडि भारतको अघोषित नाकाबन्दीमा पनि जागेको थियो किन बिचैमा मुर्झायो? अहिले भारतको नक्साले हामी भित्र राष्ट्रवादको आगो सल्काएको छ के यसले मिनपचासको चिसो सहन सक्ला?

चार छ दिनमा हामी थाक्ने छौँ। हामी आफ्नो काममा लाग्ने छौँ। भारतको सेनाले अझै एक दुई किलोमीटर सिमाना सार्ने छ। नेताहरुको लैनचौर र दिल्ली दौड सुरु होला। अनि यो विषयले फेरि चर्चा पाउन कि त अर्को गोबिन्द गौतमको मृत्यु पर्खनु पर्ला कि भारत र चिनको अर्को ब्यापारीक सन्धि या नयाँ नक्शा नै तवसम्म हामी हाम्रो पार्टीका नेतालाई गह्रगो माला लगाउन मै मस्त हुने छौँ।

नेपालको भुमी अतिक्रमण हुनुमा मुख्य दोष नेपाली शासकहरुको छ अनि अर्को दोषी नेपाली जनता नै हुन। देशको अस्मितासङ्ग सत्ता साट्ने नेताहरुलाई बारम्बार अनुमोदन गर्ने के भारतीय या चीनिया जनता हुन। चुनावमा भोट हालेर जिताउने त नेपाली नै हुन। किन बिवादित र विदेशी का गुलामहरुलाई सत्ताको पहुचमा पुगाइन्छ? भ्रष्ट र देश बेचुवा नेताहरुलाई बारम्बार जिताउने अनि नतिजा फरक खोज्ने?

अन्त्यमा मोदी या भारतलाई गाली दिनु पुर्वा हाम्रै नेताहरुलाई खवरदारी गरौँ। अहिलेको सरकार र राजनीतिक दलहरुलाई सिमा अतिक्रमण रोक्न र अतिक्रमीत भुमी फिर्ता गराउन राष्ट्रिय संकल्प लिन जनदबाब सिर्जना गरौँ। सरकार र नेताहरुलाई बिस्मृतिमा नजाउन भनेर निरन्तर नागरिक खवरदारी गरौँ। सरकारलाई नैतिक बल प्रदान गर्न एकल सामुहिक प्रयास गरौँ। अनावश्यक उत्तेजना फैलाएर मुलभुत मुद्दालाई नै भद्दा किसिमले प्रस्तुत नगरौं। नेपाल सरकार सिमा समस्याको दीर्घकालीन समाधान खोज्न सफल होस्! शुभकामना !!