सुदूर नेपाललाई विश्वसँग जोड्दै

बागलुङमा प्याराग्लाइडिङको परीक्षण उडान

२०७६ कार्तिक २४, ०९:५५ खबर संवाददाता

बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गरेको परीक्षण उडान सफल भएको छ।

आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ। धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका महासचिव नरेश कँडेलले बताए।

केहीबेर बागलुङको आकाशमा उडेपछि चालक सुनवारले धवलागिरि बहुमुखी क्याम्पसको चौरमा प्याराग्लाइडिङलाई अवतरण गराएका थिए। क्याम्पस प्राङ्गणमा महोत्सव चल्ने हुँदा वैकल्पिक अवतरणस्थलको खोजी भइरहेको छ। “उपल्लाचौर, बसपार्क क्षेत्रलगायतका ठाउँ हेर्दैछौँ”, महासचिव कँडेलले भने। उडानका लागि प्राविधिक र वातावरणीय हिसाबले पञ्चकोट उपयुक्त रहेको चालक सुनुवारले बताए। उक्त स्थानमा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने उहाँको भनाइ छ। पञ्चकोट पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको छ। 

प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, हिमशृङ्खला अवलोकन आदिका लागि पनि पञ्चकोट उत्तम मानिन्छ। धावनमार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिने महासचिव कँडेलले बताए। “बागलुङ महोत्सवको प्रमुख आकर्षणमध्ये प्याराग्लाइडिङ पनि एक हो”, उनले भने, “प्याराग्लाइडिङको गन्तव्य पहिचान र नियमित सञ्चालनको वातावरण बनाउन यसले सघाउने हाम्रो विश्वास छ।”

साहसिक खेलका रुपमा समेत चिनिएको प्याराग्लाइडिङका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सव आयोजकले लिएको छ। महोत्सव अवलोकनमा आउने दर्शक÷पर्यटकले प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन्। निश्चित शुल्क तोकेर उडान गराइने आयोजकले जनाएको छ। पर्यटन र व्यापार प्रवद्र्धनसँगै खेल, कला, संस्कृतिको जगेर्नाका लागि आउँदो पुस ११ देखि २० गतेसम्म छैटौँ बागलुङ महोत्सव हुँदैछ। महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई पनि महोत्सवले सघाउने विश्वास लिइएको छ। रासस

कमेन्ट लोड गर्नुस