कालापानीको जमिन र जीवन भारतले लुट्दा किन दुख्दैन सरकारलाई ?
नारायण अवस्थी
भारतले कालापानी, लिपुलेक अनि लिम्पियाधुराको नेपाली भु–भागलाई आफ्नो नक्सामा देखाए पछि नेपाल र नेपाली तातेका छन्। भारतको उक्त कदम पछि दिनहुँ सडकमा बिरोध प्रदर्शन भईरहेको छ। भारतविरुद्ध चर्का नारावाजी लागि रहेका छ्न्। सत्तारूढ र प्रतिपक्षी दल अनि तिनका विभिन्न भातृ सङ्गठनहरुले चर्को बिरोध गरिरहेका छ्न। काठमाडौदेखि ग्रामीण भेगसम्म नेपाली भावना भारत बिरोधि भएको छ।
जसरी नाकाबन्दीमा नेपाली भारतसङ्ग चिढिएका थिए त्यसरी नै अहिले पनि चिढिएका छन्। सत्तारूढ र प्रतिपक्षी लगायतका दलहरुले यो अवसरलाई राजनीतिक हिसावले उपयोग गर्न खोजिरहेको परिदृष्य पनि देखिएका छन्। यो विषयमा परराष्ट्र मन्त्रालयको एउटो बिज्ञप्ति आयो तर झारा टार्ने किसिमले आएको भनेर धेरैले आलोचना गरेको पनि सुनियो।
सिमा अतिक्रमण जस्तो संवेदनशील विषयलाई सरकारले सामान्य हिसावले लिनु हुँदैन। यो गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले भारतीय राजदुतलाई आधिकारिक जवाफ माग्न मन्त्रालयमा उपस्तिथि हुन पत्राचार गर्नुपर्ने हो। सरकारले भारतिय राजदूतलाई बोलाएर भारतको आधिकारी जवाफ माग्नुपर्ने हो अनि राजदुतले दिएको जवाफमा चित्त नबुझ्दो भएमा प्रधानमन्त्रीको तहमा या सरकारको तहमा कुटनैतिक हिसावले कुराकानी र छलफल चल्नु पर्ने हो। तर त्यसो हुन सकेको छैन्, हुने छाट पनि तात्काललाई देखिदैन।
नेताहरु, मन्त्री अनि पुर्वप्रधानमन्त्री समेतले नेपालको एक इन्च भुमि मिचिन दिन्नौँ भनेर हरेक पटक भनेको सुनिन्छ यो पटक अझ यो चलनचल्तीको बोली झनै सघन भएको छ। तर हाम्रो वास्तविकता भने फरक छ। नेपालको एक इन्च भुमि गुम्न दिदैनौँ भनेर हुकार गर्नेहरुले वि.स. २०१८ सालदेखी कालापानीमा बसीराखेको भारतीय फौजको ब्यारेक बङ्कर र परेड किन देख्न सकेनन्। भारतसङ्ग जोडिएका २३ जिल्लाको ७१ ठाउँमा भारतले अतिक्रमण गरेको किन देख्दैनन र त्यो अतिक्रमण हटाउन सरकारमा रहदा पहल र प्रतिपक्षमा हुँदा सत्तारूढ दललाई नैतिक दवाव दिन किन सक्दैनन्।
हरेक नेता प्रधानमन्त्री हुने बितिक्कै भारतको भ्रमणमा जाने गर्छन् भारत नेपालको असल मित्र भएको, नेपाल र भारतका बिचमा कुनै पनि समस्या नरहेको एकतर्फी घोषणा गर्न के ले प्रेरित गर्दछ ? कालापानीको जमिन अनि सुस्ताको जीवन भारतिय पक्षले लुटेको किन देख्दैनन किन स्मरण गर्न र गराउन सक्दैनन् हाम्रा प्रधानमन्त्री र सरकारहरु ? यी प्रश्नहरु हरेक आम नागरिकको तमाम राजनीतिक दल र तिनका बढेदेखी छोटे नेताहरुलाई रहदै आएको छ।
भारतले सन् १९५६ देखि हालसम्म नेपालको ६० हजार ६ सय २७ हेक्टर जमिन कब्जामा लिएको तथ्यप्रती किन नेपाली प्रधानमन्त्री, र सरकारहरु आँखा चिम्लन विवस हुन्छ्न? नेपालको १८५० किलोमीटर सिमाना भारतसङ्ग जोडिएको छ जस मध्ये ६०६ किलोमिटर सिमामा भारतले अतिक्रमण गरेको छ भन्ने तथ्यप्रती किन नेपाली शासकहरु मौन बस्दछ्न?
अहिले आएर नेपालको कालापानी क्षेत्रको ३७४ वर्ग किलोमीटर भुभाग सिमाबिद बुद्धिनारायण श्रेष्ठले बिबिसीमा भने अनुसार–भारतले आफ्नो नक्सामा देखाएको छ र आफ्नो सैनिकहरुको प्रत्यक्ष निगरानीमा त्यो क्षेत्रलाई उहिले देखि राखेको छ। भारतले कालापानीमा बाह्रै महिना सैनिक राख्न सक्ने नेपालले राख्न नसक्नुका कारण के के हुन ? किन नेपाली भुभागमा अहिलेसम्म नेपाली सुरक्षा निकाय तैनाथ गरिएन ?
वि.स.२०१७ को राजा महेन्द्रले गरेको पन्चायती कुलाई भारतिय पक्षले मौन समर्थन गरोस भन्ने हेतुले चाइना भारत युद्धका बेला राजा महेन्द्रले कालापानीमा भारतीय सेना बस्न दिएको, वि.स.२०४७ को परिवर्तनका लागि सहयोग गरे बापत गिरिजाप्रसादले टनकपुर र महाकाली नदि उपहार दिएको, गणतन्त्र, संघियता र धर्म निरपेक्षताको संस्थागत बिकासका लागि गरेको सहयोगको गुरुदक्षिणा स्वरुप अहिले आएर लिपुलेक,लिम्पियाधुरा न्यौछावर भएको त होइन ?
कसैलाई सत्तामा पुगाउन, टिकाइ राख्न अनि राजनीतिको क्षितिजमा ज्वाजल्यमान निर्बिकल्प रुपले भैरहन नेपालीहरुले जन्मदेखी मृत्युसम्म भारतिय ज्यादती सहनु पर्ने? कंचनपुरको महाकाली नदि किनारमा मृत्यु पछि अन्तिम संस्कार गर्दा समेत भारतीय प्रहरीको ज्यादती कंचनपुरवासीले भोग्नु परिरहेको छ। जन्मभुमि बेचिएको परायाका बुटले कुल्चिएको विवस भएर हामीले कहिलेसम्म टुलुटुलु हेरिरहनु पर्ने?
जो अहिले सत्तामा छ्न जो प्रतिपक्षमा छन ती सबैको स्वार्थको राजनीतिका कारण होइन नेपाल र नेपालीहरुले निरीह भएर बाच्नु परेको? राजदुतलाई मन्त्रालयमा बोलाएर आधिकारिक धारणा माग्न नसक्ने। देशको भुमी मिचिदा चुप लागेर बस्ने अनि नेपाली कुटिता मारिदा समेत कुम्भकर्ण निन्द्रामा सुत्नेहरुले नेपालीहरुसङ्ग उग्र कुरा गरेर कहिलेसम्म भावनात्मक ब्ल्याकमेलिङ गरेर राजनीतिको रोटी सेक्ने चेस्टा गर्ने हुन ?
भारत र चीन ठुला होलान,शक्तिशाली र धनी होलान तर तिनको सम्प्रभुता र हाम्रो देशको सम्प्रभुता के बराबर होइनन? किन यो कुरा हाम्रा सरकारहरु राख्न सक्दैनन्?अहिलेको विश्वमा लडेर, युद्ध गरेर केही प्राप्त हुँदैन तर कुटनैतिक तवरबाट भने सबै समस्याको हल गर्न सकिन्छ जसका लागि बहुतसारा अन्तर्रा्ष्ट्रिय मन्चको उपयोग गर्न सकिन्छ तर खै त कहिले पनि नेपाल सरकारले उपयोग गरेको ? नालापानीको कथ्यले अब नेपालीलाई उचाने प्रयास नगरे हुन्छ कालापानीको तथ्य परिवेश र यथार्थता बदलिएको छ। नेपाली पनि बुझ्ने र चलाख भईसकेका छ्न।
अहिले दल निकट संघ र संगठनमा आवद्ध युवाहरु बेफुर्सदिला भएका छ्न। सर्वसाधारण समेत भारत विरुद्ध उभिएको मौकालाई राजनीतिक खेतीपातीमा उपयोग गर्न सबै कस्सिएका छ्न। नरेन्द्र मोदीका पुत्ला शहर गाउँ सबैतिर जलेका छ्न। के नरेन्द्र मोदीको पुत्ला दहन गरेर समस्याको समाधान हुन्छ ? नरेन्द्र मोदीले आफ्नो देशका लागि जे गर्छन राम्रो गर्छन् भन्ने विश्वास भारतीय जनतालाई दिलाएका छ्न।
यसमा हामीले रुनु पर्ने कुनै कारण छ? अनि मोदीको पुत्ला दहन गर्नेहरुले खै त आफ्ना पार्टीका शिर्ष नेताहरुको पुत्ला दहन गरेको? मोदीको नभएर ओली,प्रचण्ड र देउवाको पुत्ला तिनकै दलका युवा नेताहरुले जलाउने हिम्मत गर्नुपर्ने हो अनि उनीहरु सच्चिने र राष्ट्रिय सरोकारका मुद्दामा एकै ठाउँमा आउने चेष्टा गर्ने थिए। हामीले गाली मोदीलाई होईन हाम्रो भावनाका ब्यापारी ओली,प्रचण्ड र देउवालाई दिन सक्नुपर्छ।
उनीहरुलाई नेपालीको वास्तविक ताकत के हो त्यो अनुभुती गराउन सक्नुपर्छ नत्र उनीहरुले वर्षौंदेखि जे भन्थे त्यही अहिले पनि भोलि पनि भन्ने छन्।जे वर्षौंदेखि गर्थे त्यही गर्ने छ्न। मन्त्री,प्रधानमन्त्रीको कुर्सीमा जुका झै टासीइ रहने लालसा बोकेका लोभी नेता अनि बलथजयध पैसा कमाओ भन्ने आदर्श बोकेका कार्यकर्ता र कुलदेवता झैं ठानेर पार्टी प्रति निरन्तरको निष्ठा दर्शाउने समर्थकहरु बहुमत रहुन्जेल भारत हाम्रा नेतामा हावी, नेता कार्यकर्तामा अनि कार्यकर्ता जनतामा हावी भैरहनेछ्न। सुस्ता र कालापानी मात्रै होइन विदेशीले तातोपानी, हुँदै पश्चिमको चिसापानीलाई पनि आफ्नो नक्सामा देखाउने हिम्मतलाई साकार पार्नेछ्न। सबैमा चेतना आओस्। जय नेपाल!