सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अस्थायी लालपुर्जा बाडेको २५ बर्ष पुग्दै, सलबलाए माफिया

२०७६ कार्तिक २३, ०६:४१ नवराज पनेरु

२०५१ सालमा तत्कालिन एमाले सरकारले ऋषिराज लुम्सालीको अध्यक्षतामा सुकुम्वासी समस्या समाधान आयोग गठन गरेर २०५२ सालमा देशभरी ५८ हजार ३ सय ४० परिवारलाई जग्गा वितरण गर्दा कैलालीमा तीन हजार तीन सय बढि परिवारलाई जग्गा वितरण गरिएको थियो। सो समयमा सुकुम्वासी समस्या समाधान आयोग कैलालीको अध्यक्ष भने एमालेकै नेता दिनेशचन्द्र सुवेदी थिए।

२५ बर्ष सम्म उक्त जग्गा विक्री गर्न नपाउने गरी लालपुर्जा दिईएकोमा २५ बर्ष पुग्नै लागेपछि भुमाफियाहरु सलबलाउन थालेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का अध्यक्ष रामबजारी चौधरीले भने– ‘जग्गामा भोगचलन एउटाको छ, जग्गाको अस्थायी अर्थात आयोगले दिएको लालपुर्जा अर्कैको नाममा छ। लालपुर्जा पाएको २५ बर्ष पुग्नै लाग्दा अस्थायी लालपुर्जा पाएकाहरु जग्गा विक्री गर्ने तयारीमा छन्, यस्ले दर्जनौ परिवारको उठिबास हुने सम्भावना छ।’ 

कैलालीमा आयोग मार्फत जग्गा वितरण गर्दा लापरवाही भएपछि अहिले आएर धेरैको उठिवास हुने सम्भावना रहेको अध्यक्ष चौधरीले बताए। तर स्थायी लालपुर्जाका लागि सिफारिस गर्दा भोगचलन अनुसार गर्ने दावी उनको छ। 

‘बर्र्षाैदेखि जग्गा भोगचलन गर्दै आएका कतिपय परिवारसंग अस्थायी लालपुर्जा पनि छैन्,’ वडा नम्वर १९ का अध्यक्ष तिलुराम चौधरीले भने, ‘सोही जग्गाको लालपुर्जा सो क्षेत्रमा कहिले नपुगेका व्यक्तिहरुलाई दिईएको थियो।’ जस्का कारण अव २५ बर्ष पुगेसंगै अस्थायी लालपुर्जा भएकाहरु जग्गा विक्री गर्न कैलालीको फुलवारी क्षेत्रमा आउन थालेको उनले बताए। 

लालपुर्जा एक जनाको नाममा र भोगचलन अर्कैले गर्दै आएको समस्या सबैभन्दा बढि कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १४, १८ र १९ मा अर्थात साविकको फुलवारी गाविसमा देखिएको छ। २५ बर्ष सम्म जग्गा विक्री र दान गर्न गर्न नपाउने गरी अस्थायी लालपुर्जा वितरण गरेको २५ बर्ष पुग्नै लागेपछि भुमाफिया सो क्षेत्रमा सलवलाउन थालेका छन्। 

कतिपय परिवारको जग्गा त विक्री गर्न नपाउने भएपनि विक्री भईसकेको छ। जग्गा वितरण गर्दा केही कमजोरी भएको तत्कालिन सुकुम्वासी समस्या समाधान आयोगका कैलाली जिल्ला अध्यक्ष दिनेशचन्द्र सुवेदीले स्विकार गरे। ‘अव्यवस्थीत बसोबासको आवेदन दिनेलाई डेढ विगाह र सुकुम्वासीको आवेदन दिनेलाई १० कठ्ठा सम्म जग्गा वितरण गर्ने अधिकार थियो,  सुवेदीले भने, ‘जग्गा वितरण गर्दा केही कमजोरी भएको छ, त्यस्लाई सुधार गर्नुपर्छ।’

२०५२ सालमा सुकुम्वासी समस्या समाधान आयोग मार्फत वितरण भएको जग्गा २०७७ सालमा विक्री गर्न पाईने छ र स्थायी लालपुर्जा पनि वितरण हुने छ। तर जग्गाको बर्षाैदेखि भोगचनल गर्दै आएका परिवारसंग लालपुर्जा नभई दोश्रो व्यक्तिसंग लालपुर्जा हुँदा जग्गा विक्री र स्थायी लालपुर्जा वितरणमा समस्या हुने देखिएको छ।

यता भुमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमसिंह कुँवरले भने आयोग मार्फत लालपुर्जा भएकै व्यक्तिले स्थायी लालपुर्जा पाउने बताए। उनका अनुसार अहिले जग्गा विक्री गर्न रोक लगाईएको छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस