सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरका पर्यटकीय स्थलमा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै

कैलालीको टीकापुर पार्कमा फोहार उठाउदै पर्यटक
कैलालीको टीकापुर पार्कमा फोहार उठाउदै पर्यटक
२०७६ कार्तिक २२, १२:५१ कमल सावद

दशैँ तिहार सकिएपछि कैलाली र कञ्चनपुरका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको आवागमन बढेको छ। तिहारमा समूह बनाई देउसी भलौँ खेलेर संकलन भएको रकमबाट वनभोज खादै रमाइलो गर्ने चलन अनुसार समान्य समयको भन्दा तिहार लगत्तै पर्यटकीय स्थलमा दैनिक आन्तरिक पर्यटकको चापमा बृद्धि भएको हो।

आन्तरिक पर्यटकको संख्या बृद्धि भएका पर्यटकीय क्षेत्रमा फोहोरमैला पनि बढ्दो रुपमा रहेको छ। वनभोज खानेहरुले जथाभावी फोहोर फाल्दा दुर्गन्ध बढ्दै गएको छ। तर पर्यटकीय स्थलको सरसफाईमा भने पर्यटक मात्र नभई अन्य सम्बन्धीत निकायले समेत चासो नलिएको पाईएको छ।

अहिले कैलाली र कञ्चनपुरका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको छ। खासगरी तिहारमा देउसी भैलोबाट संकलन भएको रकमले वन भोज खानेहरुले नै यहाँका पर्यटकीय स्थलहरु भरीभराउ बन्न थालेका छन्। उनीहरुले पर्यटकीय क्षेत्रमा पुगी खानाका विभिन्न परिकार बनाउँदै एक आपसमा रमाईलो गर्ने गर्छन्। तर पर्यटकहरुले बोकेर ल्याएका फोहोर सोही क्षेत्रमा  जथाभावी फाल्ने गर्दा दुर्गन्ध फैलिएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर भण्डारीले गोदावरी धाम क्षेत्रमा तीन किलोमिटर क्षेत्रमा वनभोजमा गएकाहरुको भीड हुने गरेको बताए। ‘गेदावरी नदीको पुलदेखि माथि तीन किलोमिटर क्षेत्रमा पिकनीक खानेहरु हुन्छन्। उनले भने, ‘उनीहरुले नदीमा फोहोर गरेका हुन्छन्। नदी भएकाले फोहोर संकलन गर्न पनि समस्या छ। तीन किलोमिटर क्षेत्रमा फोहोर छ।’

कैलालीको टीकापुर पार्क, कर्णाली चिसापानी, बर्दागोरिया धाम क्षेत्र, घोडाघोडी ताल क्षेत्र, कोहिलिया ताल, गोदावरी धाम क्षेत्र, जाखोर ताल क्षेत्र सहित चुरे पहाडका फेदीहरु तथा कञ्चनपुरको दोधाराचाँदनी, लिङ्गा, वेदकोट ताल क्षेत्र, कुण्डा ताल र शोभा ताल क्षेत्रमा अहिले हजारौको संख्यामा वनभोज खान आन्तरिक पर्यटकहरु पुग्छन्।

उनीहरु रमाईलो र खानपिनका लागि वनभोज जन्छन्। तर  पर्यटकीय क्षेत्रमा हुने फोहोरको बारेमा भने वास्ता गरिएको देखिएको छैन्। स्थानीय तहहरुले पनि फोहोर व्यवस्थापनका लागि कुनै कार्यक्रम सञ्चालन भएको देखिएको छैन्। घोडाघोडी नगरपालिकाका प्रवक्ता ताल क्षेत्रमा वनभोज खानेहरुका कारण खुट्टा राख्ने  ठाउँ नभएको बताए।

घोडाघोडी ताल क्षेत्रमा वनभोजका लागि दैनिक हजारौको संख्यामा आउने गरेका छन्। वडा अध्यक्ष शाहले भने, ‘फोहोर पनि हुन्छ, फोहोर व्यवस्थापनका लागि घोडाघोडी संरक्षण समिति पनि छ। नगरपालिकाले पनि टीपर पठाउदै आएको छ। उनीहरुले फोहोर व्यवस्थापनका लागि सहयोग माग गरे नगरपालिका तयार छ।’

वनभोज खान पुग्नेहरुले सडने तथा नसडने फोहोर पर्यटकीय स्थलमा जथाभावी फाल्ने गरेका छन्। वनभोजका लागि आवश्यक पर्ने समान बजारबाट खरिद गर्नुपर्ने भएकाले प्लाष्टिकजन्य फोहोर वनभोज क्षेत्रमा बढि देखिन्छ। प्लाष्टिकसंगै मादक पदार्थका बोतलहरु, मासुका हड्डीहरु, कुखुराका प्वांखहरु, दिशाजन्य फोहोरहरु वनभोज क्षेत्रमा हुन्छन्।

वनभोज पछि जम्मा भएको फोहोर व्यवस्थापनमा युवाहरुको चाँसो छैन् भने स्थानीय तहहरु पनि बेखबर देखिएका छन्। तर कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले खानेपानीको व्यवस्थापनमा वेदकोट ताल क्षेत्रमा केही समस्या रहेको बताए।

लिङ्गा क्षेत्र र वेदकोट ताल क्षेत्रको फोहोर व्यवस्थापनका लागि कर्मचारी राखिएको भएपनि व्यवस्थापनमा चुनौति रहेको उनले बताए। ‘लिङ्गा र वेदकोट क्षेत्रमा वनभोज खानेहरुको अहिले भीड छ। उनले भने, फोहोर व्यवस्थापनका लागि कर्मचारी छन्। तर उनीहरुले मात्र गर्न सक्ने अवस्था छैन्। वनभोजमा पुग्नेहरुले आफ्नो फोहोर आफै उठाउने की भन्ने विषयमा पनि सोच्न आवश्यक छ।’

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस