सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय स्तरको र्‍याप्टीङ प्रतियोगिता हुने

२०७६ कार्तिक २२, ११:४६ खबर संवाददाता

आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ। नेपाल एसोसिएशन अफ  र्‍याप्टीङ  एजेन्सिज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ अन्तर्गत  र्‍याप्टीङ  र कायक प्रतियोगिता हुन लागेको हो।

नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्ष झैँ यस वर्ष पनि नाराले कायक र कर्पोरेट  र्‍याप्टीङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी    दिए। यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको अध्यक्ष नेपालले बताए। नाराले गत वर्ष लमजुङको मस्र्याङ्दी नदीमा कायक तथा  र्‍याप्टीङ  रेसको प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागिता गराएर एक विधामा समूहगत  र्‍याप्टीङ रेस प्रतियोगिता हुनेछ। कर्पोरेट  र्‍याप्टीङ रेस प्रतियोगितामा भाग लिने टोलीलाई रु ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ।  र्‍याप्टीङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख, दोस्रो हुनेलाई  ५० हजार तथा तेस्रो हुनेलाई रु २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ। 

यस्तै, कायकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई रु पाँच हजार ५ सय र स्वदेशी खेलाडीलाई  तीन हजार लाग्नेछ। तीनै प्रकारका कायकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराका महासचिव शिशिर खनालले जानकारी दिए। प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै चार सय खेलाडीको सहभागिता रहनेछ। सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्वबजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने महासचिव खनालको भनाइ छ।  सन् २००२ बाट कायक र  र्‍याप्टीङ  प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता हुने विश्वास नाराले लिएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै ७० लाख खर्च हुने नाराले जनाएको छ । 

कमेन्ट लोड गर्नुस