सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतबाट धनगढी पुगेका पर्यटकको अनुभुती : सुने जस्तै लाग्यो नेपाल

२०७६ कार्तिक २१, ०१:०८ जनक विष्ट

नेपाल भ्रमण वर्ष २०२० नजिकिदै छ। सुदूरपश्चिमको पश्चिमी सीमा नाका गड्डाचौकी र त्रिनगरबाट पनि प्याकेज बनाएर विदेशी पर्यटक आउन थालेका छन्। मंगलबार मात्र भारतको दिल्ली हुँदै गड्डाचौकी नाकाबाट छ जना बेलायती नागरिक नेपाल प्रवेश गरे। यहाँका पर्यटकीय स्थलको घुमघामसँगै नेपाली संस्कृति, भेषभुषा, खानपान अन्य लवाईखवाई, पर्यावरण, हिमालयको भ्रमणका लागि नेपाल पुगेको उनीहरुले बताएका छन्।

मंगलबार धनगढी बसेका उनीहरु बुधबार पोखरा, चितवन र काठमाडौँको यात्रामा निस्केका छन्। गड्डाचौकीबाट धनगढी सम्मको यात्राको अनुभुती उनीहरुले दिनेश खबरसंग व्यक्त गरेका छन्। बेलायतमा मेकानिकको काम गर्दै आएका रिचर्ड कोकरियलले नेपालको संघिय राजधानी काठमाडौँ घुम्न टुर प्याकेज बनाएर लण्डनबाट हवाई मार्ग मार्फत भारतको नयाँ दिल्ली हुँदै धनगढी पुगेको बताए।

उनले नेपालको संस्कृति, भेषभुषा, खानपान, यहाँको हिमालको बारेमा लण्डनमा हुँदा धेरै कुरा सुनेकाले पहिलो पटक अवलोकन गर्न पुगेको जनाए। गड्डाचौकीदेखि धनगढी सम्मको यात्रा सुखमय बितेको सुनाउदै कोकरियलले भने, ‘हाम्रोमा रोडहरु फराकिलो र टु वे छ तर यहाँ एउटै सडकमा दुवैतीरबाट सवारी साधन चल्दा रहेछन्।, उता दाया साईडबाट सवारी चलाउँछौँ नेपालमा ठिक्क उल्टो रहेछ।’ ‘सडकका छेउछाउमा प्रहरी उभिएको देख्दा निकै सुन्दर लाग्यो।’ उनले भने।

हाम्रो देशको भन्दा सबै कुरा फरक पाउँदा रमाईलो भईरहेको प्रतिक्रिया उनको थियो। लण्डनमा हुँदा नेपालीहरुसँग भेटेको बताउने ह्यारी नोक्सले नेपालको बारेमा सुनेको तर हेर्न पाउँदा उत्साहित भएको बताए। ‘लण्डनबाट काठमाडौँका लागि प्याकेज बनाएर आएपनि राजमार्गमा पर्ने रमणीय स्थलको अवकलोन गर्दै गईरहेका छौँ।

यहाँका नागरिकसँग सहयोगको अपेक्षा गरेका छौँ।’ उनले भने। अर्का पर्यटक जोन पेटरले नेपालीहरु निकै सहयोगी पाएकोमा खुसी व्यक्त गरे। मलाई बुढो हुनुभन्दा पहिले संसार घुम्ने इच्छा छ, त्यही इच्छा अनुसार पहिलो पटक नेपाल आएको हुँ।

तर साथमा भारतीय गाईड ल्याएपनि नेपाली गाईड नहुँदा यहाँ रमणीय स्थल घुम्न छुट्ने हुन की भन्ने चिन्ता रहेको उनले सुनाए। ‘तर हामी नेपालको नक्सा बोकेर हिडेका छौँ, राजमार्गमा भेटिने मानिसहरुसँग घुम्नै पर्ने स्थलबारे सोध्दै जान्छौँ,उ हाँहरुले पनि सहयोग गर्नेमा आशावादी छौँ किनकी नेपाली सहयोगी छन्।’

सुदूरपश्चिम विदेशी पर्यटकको रोजाईमा किन पदैनन् ?

पश्चिमी सीमा नाकाबाट आउने पर्यटक सोझै पोखरा, चितवन र काठमाडौँ लगायतका पूर्वी नेपालमा रहेका पर्यटकीय स्थल घुम्न जान्छन्। बुधबार धनगढीमा भेटिएका छ जना बेलायती पर्यटकको रोजाईमा पनि सुदूरपश्चिम थिएन्।

उनीहरुका अनुसार टुर प्याकेज बनाउने बेला नै ट्राभल्स कम्पनीहरुले निश्चित गन्तव्य तय गरी सोही अनुसार योजना बनाई दिएका हुन्छन्। बेलायती नागरिकको हकमा पनि त्यसै भएको थियो। भारतीय ट्राभल्स कम्पनीको सहयोगमा उनीहरु नेपाल भ्रमणमा आए। तर सुदूरपश्चिमी नाकाबाट प्रवेश गरेपनि प्याकेजिङ गर्दाखेरी नै काठमाडौँ, चितवन र पोखरा रोजाईमा थियो।

यात्राका क्रममा राजमार्गमा पर्ने स्थलहरुमा घुम्ने चाहाना विदेशी पर्यटकमा भएपनि त्यसबारे जानकारी नै हुदैन्। उनीहरुले घुम्ने इच्छा व्यक्त गरेपनि भारतीय गाईडको सहयोगमा नेपाल आउँछन् तर गाईडलाई नै धेरै कुरा थाहा हुँदैन्।

प्रचार प्रसार नै पुगेन

कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले विदेशी पर्यटकको रोजाईमा सुदूरपश्चिम नपर्नुमा प्रचार प्रसारकै अभाव भएको प्रतिक्रिया दिए। उनले विदेशी पर्यटक भारतीय ट्राभल्स कम्पनीहरुको सहयोगमा आउँदा उनीहरुले सोही अनुसार प्याकेज बनाउने गरेको बताउँदै गाईड पनि आफ्नै राख्ने गरेको जनाए। सुदूरपश्चिमका पर्यटकीय स्थलको बारेमा प्रचार प्रचार नहुनु नै मुख्य समस्या भएको उनी बताउँछन्।

उनले नक्सामा यहाँका पर्यटकिय स्थल समावेश गर्न नसक्दा पनि विदेशी पर्यटक अनभिज्ञ भएको बताए। विदेशी पर्यटकलाई सुदूरपश्चिममा पनि घुमाउन प्रचार प्रसार नै मुख्य आवश्यकता भएको उनले बताए। यहाँका पर्यटकीय स्थलबारे जानकारी नहुँदा भारतीय ट्राभल कम्पनीले पनि पूर्वी नेपालकै प्याकेज बनाएर घुमाउदै आएको भण्डारीको प्रतिक्रिया थियो।

  •  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस