सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेम मल्ल स्मृति पुरस्कार भण्डारीलाई, परिमल स्नेही प्रतिभा पुरस्कार गायक भट्टले पाउने

२०७६ कार्तिक २१, १०:१६ खबर संवाददाता

कला संस्कृतिका क्षेत्रमा विभिन्न काम गर्दै आएको सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीले दुई वटा फरक–फरक विधाको पुरस्कारको लागि प्रतिभाहरूको नाम घोषणा गरेको छ। हेम मल्ल स्मृति पुरस्कार र परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार वितरणका लागि प्रतिभाको घोषणा गरिएको हो।

हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार २०७६ वरिष्ठ साहित्यकार तथा आम सञ्चारका क्षेत्रबाट डोटेली भाषाको विकासमा महत्वपूर्ण योगदान पुगाउने निर्मलकुमार भण्डारीलाई प्रदान गरिने भएको छ। भण्डारीले २०६४ सालको भाद्रदेखि माघसम्म रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र दिपायलबाट प्रशारण हुने हजारी माला कार्यक्रम सञ्चालन गर्नुका साथै खप्तड एफएम धनगढीबाट करिव पाँच बर्ष गीत माला कार्यक्रम सञ्चालन गरेका थिए। 

यस अघि पहिलो पटक धिरेन्द्रराज चटौत र मुकुन्दराज भण्डारीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । चटौत र भण्डारीले २०५७ सालमा रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतबाट डोटेली भाषाको कार्यक्रम ’हजारी माला’ सुरु गरेका थिए। त्यस्तै हेम मल्ल स्मृति आम सञ्चार पुरस्कार २०७५ गुगुल्टीका प्रधान सम्पादक तथा प्रकाशक वीरबहादुर चन्द विश्रामलाई प्रदान गरिएको थियो।

सुदूरपश्चिम बहुउद्देश्यीय मञ्च धनगढीको आगुवाइमा स्वर्गीय सञ्चारकर्मी हेम मल्लकी श्रीमती अनिता खनिया मल्लबाट एक लाख र सामाजिक संघसंस्था एवम् केही व्यक्तिहरूको सहयोगमा थप ५० हजार गरी एक लाख ५० हजारको अक्षय कोष स्थापना गरि उक्त पुरस्कार वितरण गर्दै आईएको छ। मल्लले दिनेश एफ एममा डोटेली भाषाको कार्यक्रम प्रस्तोता तथा डोटेली भाषाको पत्रिका सुदूर चिनारीका सह–सम्पादकका रुपमा रही डोटेली भाषा संरक्षणमा योगदान पुगाएका थिए।

यस्तै सुदूरपश्चिममाञ्चल बहुउद्देश्यीय मञ्चले विगत ६ वर्षदेखि वितरण गर्दै आएको परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार २०७६ डेउडा गायक भोजराज भट्टलाई प्रदान गर्ने निर्णय भएको छ। दुबै पुरस्कारको राशी ११ हजार एक सय ११ र सम्मान पत्र तथा दोसल्ला रहेको छ। दुबै पुरस्कार एक औपचारिक कार्यक्रम आयोजना गरी प्रदान गरिने छ।परिमल स्नेहीले २०१६ सालमा रेडियो नेपालमा पहिलो पटक डेउडा गीत गाएका थिए। 

कमेन्ट लोड गर्नुस