सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सुरुङमा फसेका एकजना सम्म अझै पुग्न सकेन सशस्त्र प्रहरी

२०७६ कार्तिक १९, १२:१३ डीवि विष्ट

बझाङको बुंगलमा निर्माण भईरहेको कालंगा हाईड्रोपावरको सुरूङ भित्र फसेका तीन जना मजदुरको शव सशस्त्र प्रहरीले बाहिर निकालेपनि एकजनाको अवस्था अझै अज्ञात रहेको छ।  सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक भवराज कटुवालको नेतृत्वमा घटना स्थल पुगेको टोलीले सोमबार तीनजनाको शव बाहिर निकालेपनि एकजनाको अवस्था अज्ञात रहेको हो।

सुरुङमा फसेका दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, सोही ठाउँका ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव निकालिएपनि बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको अवस्था अज्ञात छ।

उद्दारका लागि बझाङ पुगेका सशस्त्र प्रहरी निरिक्षक भवराज कटुवालले धामीलाई भेटाउन नसकिएको जानकारी दिए। उनले सोमबार सुरुङबाट बोलेरो जीप सहित तीनजनाको शव बाहिर निकालिएको भएपनि धामीलाई भेटाउन नसकिएको दिनेश खबरलाई बताए। कटुवालले सुरुङको तीन मिटर भन्दा पर अक्सिजन नहुँदा कठिनाई भईरहेको बताएका छन्।

उनले अक्सिजन सिलिण्डर लगिएपनि छिटो छिटो सकिने समस्याले आँखा पोल्ने, रिगटा लाग्ने समस्याले धेरै बेर सुरुङ भित्र बस्न नसकिएको तर प्रयास भने निरन्तर जारी राखिएको बताए। कटुवाल सहित सशस्त्र प्रहरी नायब निरिक्षक विरेन्द्र बम, सशस्त्र प्रहरी हवलदार शिवहरी अधिकारी र सहायक हवलदार ललित खाम्चा अहिले पनि धामीको खोजीका लागि अक्सिजन सहित सुरुङ भित्र प्रवेश गरेको छ।

सुरुङमा ट्याक्टर समेत फसेको पाईएकाले निकाल्ने प्रयास जारी राखिएको छ। आईतबार दिउँसो करिब साढे तीन बजे सुरुङ भित्र काम गर्नका लागी गएका चारजना मजदुर वेपत्ता भएका थिए।  विपद व्यवस्थापक सहित उद्दारमा तालिम प्राप्त सशस्त्र प्रहरी निरिक्षक कटुवाल लगायतको नौ जनाको टोली सोमबार घटना स्थल पुगेको थियो।     
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस