सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्तलाको विरुवाको निर्यात बढ्दो

२०७६ कार्तिक १८, ०३:०७ खबर संवाददाता

सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले वार्षिक ४० हजार सुन्तलाका विरुवा उत्पादन गर्दै आएको छ। नेपाली बजारमा भारतीय सुन्तलाको प्रभाव बढेपछि नेपाली सुन्तला उत्पादन बढाउन विरुवा उत्पादनमा केन्द्र जुटेको हो। पाल्पामा उत्पादित सुन्तलाका विरुवा म्याग्दी, पर्वत, बाग्लुङ्ग लगायतका जिल्लामा अधिक मात्रामा निर्यात हुँदै आएको छ। गत आर्थिक वर्ष २०७५÷०७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र, पाल्पाले जिल्ला बाहिर निर्यात गरी रु आठ लाख आम्दानी गरेको थियो।

केन्द्रले यसपालि पनि ४० हजारभन्दा बढी सुन्तला, कागती, जुनार उत्पादन गर्ने लक्ष्य छ। निरोगी विरुवा उत्पादनका लागि जाली घरमा सुन्तला तथा जुनारका माउ विरुवालाई हुर्काइएको छ। निरोगी बोटबाट नयाँ नयाँ विरुवा हुर्काउन सकिने र त्यस्ता विरुवामा रोगले छिटो आक्रमण गर्न नसक्ने प्राविधिकको दाबी छ। 

माउ विरुवाका हाँगालाई तीनपात्रे सुन्तला (वन सुन्तला) मा कलमी गर्न सकिन्छ । तीनपात्रे सुन्तलाको मुनालाई कैँचीले काटेर बीच भागमा चिरेर माउ सुन्तलाको हाँगा हाली प्लास्टिक टेपले बाध्नुपर्छ। यसरी नै कलमी विरुवा उत्पादन हुने केन्द्रका प्रमुख बमबहादुर थापाले बताए। विशेष गरी कलमीले छिटो उत्पादन दिने हुँदा आम्दानीसमेत छिटो लिन सकिने हुन्छ। त्यसैले कलमीको विरुवाको माग बढ्दो छ। “कलमी गरेको स्थानमा जरा हटाउनुपर्छ, कहिलेकाहीँ जरा पलाउने समस्या हुन्छ,” प्रमुख थापाले भने।

देशको मध्यपहाडी क्षेत्रका ३८ जिल्लामा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ। त्यसकारण पनि पाल्पामा सुन्तलाको विरुवाको माग बढी रहेको पाइन्छ।  विजुभन्दा कलमीका सुन्तलाका विरुवाको माग बढ्दो छ। सुन्तला दानाबाट हुर्काइएका विरुवाबाट ५÷६ वर्षमा मात्रा फल लाग्ने हुँदा यस्ताभन्दा कलमी विरुवामा किसानको आकर्षण बढ्दो छ।

पाल्पाको रैनादेवी छहरा, रिब्दीकोट क्षेत्रका किसानले सुन्तला तथा कागतीका विरुवा उत्पादन गर्दै आएका छन्। रैनादेवी गाउँपालिका–४ अमलाबासका सुन्तलाको विरुवा बेचेर आम्दानी गर्दै आएको स्थानीय विष्णु कोइरालको भनाइ छ। सुन्तला खेतीबाट आयआर्जन हुन थालेपछि यसको विरुवाको माग पाल्पामा बढ्दो छ। नेपाली बजारमा भारतीय सुन्तलाको प्रभाव बढ्दो छ। चिस्यान केन्द्र नहुँदा चैत वैशाखभन्दा पछिल्लो महिनासम्म सुन्तला राख्न नसक्दा किसानले वास्तविक मूल्य नपाउने र भारतीय सुन्तला बजारमा हुने समस्या बढेको किसानको गुनासो छ।

सुन्तला जातका फलफूल विश्वभरनै पाइने भएपनि नेपालमा उत्पादित सुन्तला स्वादिलो रहेको पाइन्छ। यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। भिटामिन ‘ए’ र क्याल्सियमले भरिपूर्ण सुन्तलाको नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुर्ने स्वास्थ्यकर्मीको भनाइ छ। केन्द्रले पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जमा प्राविधिक सेवा दिँदै आएको छ। रासस
 

कमेन्ट लोड गर्नुस