सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी करुणा बनिन्, सुदूरपश्चिम स्कुल डान्स स्टार

२०७६ कार्तिक १७, ०१:३९ खबर संवाददाता

कैलालीको बडैपुरको नेप्लीज एकेमेडीकी विद्यार्थी करुणा सिंह सुदूरपश्चिम स्कुल डान्स स्टार बनेकी छन्। सुदूरपश्चिम स्कुल डान्स स्टार प्रतियोगिताको ग्राण्ड फिनालेमा उनी पहिलो भएकी हुन्। उनले नगद तीन लाख रुपैँया पुरस्कार पाएकी छन्।

पहलमानपुरको ज्ञानज्योती विद्या मन्दिरका विद्यार्थी आदित्य बगाले दोस्रो र अत्तरियाको जेके ईङ्लीस बोडिङ स्कुलकी प्राप्ती भट्ट तेस्रो भएकी छन्। उनीहरुले क्रमशः एक लाख ५० हजार र ५० हजार पुरस्कार पाएका छन्। द नेक्स्ट ड्रिम्स इन्टरटेइनमेन्टको आयोजनामा भएको प्रतियोगितामा १५ जना प्रतिस्पर्धी अन्तीममा पुगेका थिए। कैलालीको मसुरिया, अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगर गरी चार स्थानमा अडिशन गरिएको थियो। अडिशनमा तीन सय जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ। सुदूरपश्चिमबाट राष्ट्रिय स्तरको प्रतिभा खोजी गर्ने उद्देश्यले सुदूरपश्चिम स्कुल डान्स स्टारको आयोजना गरिएको हो।

प्रतियोगिताको ग्राण्ड फिनालेमा नायिका आँचल शर्मा, कोरिया ग्राफर जेम्स जोशी लगायत तीन जना निर्णायकको भूमिकामा थिए। गायक तथा मोडल प्रकाश सपुतको पनि प्रस्तुती रहेको थियो। प्रतियोगिता सञ्चालनका लागि १० लाख खर्च भएको आयोजक द नेक्स्ट ड्रिम्स इन्टरटेइनमेन्टका निर्देशक सुदिप जोशीले बताए। कार्यक्रमको सञ्चालन प्रभात शैक्षिक पत्रिकाका सम्पादक प्रकाश छेडालले गरेका थिए।

कमेन्ट लोड गर्नुस