बैतडी डोजर काण्ड : छानविन समितिले प्रतिवेदन बुझाएन
बैतडीमा डोजर मार्फत स्थानीयमाथि आक्रमण गरिएको घटनाको छानविन गर्न गठन भएको समितिले अझै प्रतिवेदन बुझाएको छैन्। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन समितिले अहिले सम्म छानविन प्रतिवेदन नबुझाएको हो।
कात्तीक ८ गते नै दशरथचन्द नगरपालिका वडा नम्वर ९ ग्वाल्लेक पुगेको उक्त टोलीले छानविन नसकिएको भन्दै ५ दिन म्याद थप गरेको थियो। समितिलाई सुरुमा छानविन गरी ४८ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिईएको थियो। तर विचमा तिहारको विदा परेको र उच्च अदालतले उक्त जग्गामा निषेधाज्ञा जारी गरेकोले प्रतिवेदन तयार पार्न नसकिएको छानविन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए।
कात्तीक ४ गते स्थानीयले सडक निर्माणका क्रममा विरोध गरेपछि डोजर चालक किशोर बोहोराले स्थानीयमाथि डोजर चलाएका थिए। प्रहरीले चालक बोहोरा सहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चालक सहित ४ जना विरुद्ध ज्यान मार्ने उद्योग र एक जना विरुद्ध अभद्रं व्यवहारमा मुद्धा दर्ता गरिएको छ। डोजर आक्रमणबाट स्थानीय गौरा जोशी लगायत ८ जना घाईते भएका थिए। अहिले घाईते सबै घर फर्किसकेका छन्।