धनगढीमा युवकमाथि सांघातिक हमला गर्ने पक्राउ परेनन्
धनगढी– एक युवकमाथि खुकुरी प्रहार गर्ने गिरोह अझै पक्राउ परेको छैन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीका २२ बर्षीय एसपी भट्टमाथि धनगढीकै शिबनगरका युवाहरुले कार्तिक ६ गते राती हसनपुरमा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गरेको ११ दिन वितिसक्दा समेत संग्लनहरु पक्राउ नपरेका हुन्।
कार्तीक ६ गते राती धनगढीको डिभोटी चोकमा भट्टमाथि ६÷७ जनाको समूहले खुकुरी प्रहार गरी आक्रमण गरेको थियो। भट्टले घटनामा संग्लन रहेको भन्दै धनगढीकै सन्तोष शाह, विराट बोगटी र अनिष रावल विरुद्ध किटानी जाहेरी दिएको समेत एक हप्ता वितिसकेको छ।
भट्टका बुवा घनश्याम भट्टले कार्तिक १० गते जिल्लाप्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएका छन्। तर प्रहरीले उनीहरुलाई पक्राउ गर्न लापरवाही गरेको हो। खुकुरी प्रहारबाट भट्ट गम्भिर घाईते भएका छन्। भट्टको टाउकोमा तीन ठाउँमा खुकुरीले प्रहार गरेको गहिरो चोट छ भने उनको नाडी काटिएको छ। उनको औलापनि छिनालिएको छ।
घटनामा आरोपीहरु
भट्टको धनगढीको निसर्ग अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको पीडितका बुवा घनश्याम भट्टले बताए। ‘छोराको चार दिन सम्म अस्पतालमा उपचार गराएपछि धनगढी फर्किने वित्तिकै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्तीक १० गते किटानी दिएका थियौँ,’ उनले भने, ‘घटनामा संग्लनहरु खुलेयाम घुमिरहेका छन्, तिहार मनाएको फोटो फेसवुकमै हालिरहेका छन्, तर प्रहरीले पक्राउगर्न चाँसो नै दिएको छैन्।’
छोरामाथि आक्रमण भएकै राती वडा प्रहरी कार्यालयलाई समेत जानकारी गराईएको उनले बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरीले घटनामा संग्लनहरुको खोजीकार्य जारी रहेको बताए। तर किटानी दिएको एक हप्ता सम्म पनि उनीहरु पक्राउ नपर्नमा प्रहरीमाथि आशंका उब्जिएको छ।
के हो घटना?
कार्तीक ६ गते धनगढीकै शुभश्री प्यालेसमामिस फारवेष्टको फाईनल थियो। फाईनल हेर्न गएका भट्ट राती साढे ११ बजे आफ्नै मोटरसाईकलमा उत्तरवेहडी स्थीत घरतर्फ आईरहेका थिए। डिभोटीचोक पुग्नै लागेको बेला एक्कासी उनीमाथि ढुङगा प्रहार भयो, उनी मोटरसाईकलबाट लडे।
झण्डै ६, ७ जना देखिएपछि उनले किन ढुङगा हानेको भन्दै प्रश्न गर्दा उनीमाथि पछाडीबाट टाउको र शरिरमा खुकुरी प्रहार भयो। उनी बेहास भएर लडे। बटोमा हिड्ने एक जनाले भेटेपछि भट्टलाई नजिकै रहेको निसर्ग अस्पतालमा पुगाईदिए। केही बेरमा वडा प्रहरी कार्यालयलाई खवर भएपछि प्रहरी अस्पताल सम्मपुग्यो र उनको उपचार सुरु भयो।
थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएकोमा नेपालगञ्जमा तीनदिन सम्म उपचार भयो। उनको नाडीका नसाको सल्यक्रिया पनि गरिएको छ। चिकित्सकले एउटा नसा नभेटिएकाले उनको केहीऔला नचल्न सक्ने बताएका छन्। वडा प्रहरी कार्यालयलाई भट्टका साथीले निसर्ग अस्पतालमै घटनामा प्रयोग भएको खुकुरी पनि बुझाएका थिए।
भट्टका अनुसार घटना हुनु केहीदिन अगाडी मात्रै शाह, बोगटी र रावलमाथि उत्तरवेहडीमा अर्को समूहले कुटपिट गरेको थियो। उनीहरुमाथि कुटपिट भएको केही समयपछि भट्ट निसर्ग अस्पतालमा भर्ना भएकी हजुरआमा भेटेर फर्किरहेका थिए। कुटपिटमा भट्टकै संग्लनता रहेको भन्दै उनीमाथिपनि खुकुरी प्रहार भएको बुझिएको छ।