सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय राजदुतसँगै उपप्रधानमन्त्री यादव रिवन काट्न मात्रै दार्चुला पुगे

२०७६ कार्तिक १५, ०६:१८ नरेन्द्र कार्की

उपप्रधानमन्त्री एवंम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव शुक्रबार नेपाली सेनाको हेलिकप्टर मार्फत दार्चुला पुगे। उनी दार्चुला आउने विषयमा जिल्लाका सुरक्षा निकाय अनिभीज्ञ थिए। जिल्ला आउने विषयमा अनभीज्ञ भएपछि उनले सहभागिता जनाउने कार्यक्रमका विषयमा जानकारी हुने त कुरै भएन।

यद्यपी जिल्लाको महेन्द्र मावि खलंगामा भारतीय राजदुतावासको सहयोगमा निर्मित  भवनको नेपालका लागि भारतीय राजदुत मञ्जीव सिह पुरीले उद्घाटन गर्ने कार्यक्रम बारे यसअघि नै जानकारी थियो। समन्वयका लागि भारतीय राजदुतावासले महाकाली नगरपालिकालाई पत्र लेख्दै समन्वय गरिदिन भनेको थियो।

विद्यालयमा उद्घाटन कार्यक्रमका लागि मञ्च सजाईएको थियो। दिउँसोको पौने दुई बजेतीर हेलिकोप्टर अवतरण भएको हेलिकोप्टरबाट भारतीय राजदुतसँगै उपप्रधानमन्त्री यादवपनि ओर्लीए। तब मात्रै त्यहाँ उपस्थित सुरक्षा निकायका अधिकारी,जनप्रतिनिधि लगायत उपप्रधानमन्त्री पनि सँगै आएछन् भन्ने विषयमा जानकार भए। हेलीकोप्टरबाट ओर्लीएपछि उपप्रधानमन्त्री यादव र राजदुत पुरी महाकाली नदीको मोटरेवल  पुल निर्माण स्थलको निरीक्षणमा निस्कीए।

निर्माण स्थलको टुङ्गो नलागेको भएपनि राजदुत सहित उपप्रधानमन्त्रीको टोलीले महाकाली नगरपालिका वडा नम्बर ८ सुरकाँडा र काँकडाका दुई स्थानको अवलोकन ग¥यो। राजदुत पुरीले महाकाली नदीमा पुल निर्माण आवश्यक भएको बताए तर अन्य प्रक्रियाका विषयमा मुख खोलेनन्।

औपचारिक कार्यक्रममा पनि उक्त विषयमा न उपप्रधानमन्त्रीले मुख खोले न राजदुतले। पुल निर्माणका लागि गत वर्ष नै ठेक्का आह्वान गरेपनि स्थानकै टुङ्गो लागेको छैन्। राजदुत पुरीले पुल आवश्यक भएको भनेपनि उपप्रधानमन्त्री यादवले त पुलका लागि शब्द नै खर्चिएनन्।

संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गर्दै दुवै जनाले आपसी मित्रता र सहयोगका विषयमा खुलेरै कुरा गरे। यादवले राजदुतलाई धन्यवाद ज्ञापन गरे। महेन्द्र माध्यमिक विद्यालयको भवन संयुक्त रुपमा उद्घाटन गरेपनि सिलालेखमा उपप्रधानमन्त्री यादवको नाम लेखिएको थिएन्।

झण्डै दुई घण्टाको दार्चुला बसाईपछि उनीहरु नेपाली सेनाको हेलिकोप्टर मार्फत नै फर्किएका छन्। तर उनले त्यहाँ रहदा दार्चुलाका लागि एक शब्द पनि खर्च गरेनन्। सुदूरपश्चिमको कुरा त टाढा छ। धेरैले स्वास्थ्य मन्त्री भएकाले यादवले जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने आशा गरेका थिए।

कतिपयले जिल्ला अस्पतालको निरिक्षण पनि गर्छन् की भन्ने अनुमान गरे तर उनले अस्पतालको नभएर भारतीय राजदुतसँगै पुल निर्माण हुने भनिएका सम्भावित दुईवटा स्थानको नीरिक्षणमा समय बिताए। उनीसँगै काठमाडौँ फर्किए। उनको दार्चुला भ्रमण औचित्यहीन भएपछि आलोचना भईरहेको छ।     

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस