कैलालीमा दुई बालक मृत्यु प्रकरण : ७ घण्टापछि पूर्वपश्चिम राजमार्गको अवरोध हट्यो
कैलालीमा ७ घण्टापछि पूर्वपश्चिम राजमार्गको अवरोध हटेको छ। बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले विहान १० बजेदेखि राजमार्ग अवरुद्ध पारेकामा अहिले ५ बजे अवरोध हटेको हो।
जिल्लाको बौनियाँमा बिहिबार साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै राजमार्गको बौनियाँ खण्ड अवरुद्ध पारेका थिए।
अहिले भने राजमार्गको अवरोध हटेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए। उनले स्थानीय प्रशासन, महाकाली यातायात र पीडित पक्षबिच बार्ता समेत जारी रहेको बताए।
महेन्द्रनगरबाट काठमाडौं गईरहेको ना ७ ख ६०४६ नम्बरको यात्रु बाहक बसले बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा दुवै बालकलाई ठक्कर दिएको थियो। उनीहरु मध्ये एक जनाको नेपालगञ्ज र एक जनाको भारतको लखनउमा मृत्यु भएको थियो। ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिईसकेको छ।