सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा झण्डै ११ अर्ब पुँजीका सात उद्योग दर्ता, छ सयले रोजगारी पाउने

२०७६ कार्तिक १५, ११:४८ जनक विष्ट

सुदूरपश्चिम प्रदेशमा गत वर्ष झण्डै ११ अर्बको लगानीमा सञ्चालन हुने साना, मझौला र ठुला गरी सात वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागको तथ्याङ्क अनुसार सुदूरपश्चिमममा दुई वटा ठुला उर्जामुलक उद्योग सहित झण्डै ११ अर्बको लगानीमा सातवटा उद्योग दर्ता भएका हुन्। विभागले दार्चुलाको मार्मा गाउँपालिकामा अपी पावर कम्पनी लिमिटेड शाखा सहित सुदूरपश्चिममा गत वर्ष सातवटा उद्योग दर्ता भएका छन्।

दार्चुलामा सात अर्ब २५ करोड पुँजीमा ४० मेगावाट विद्युत उत्पादन गर्न अपी पावर कम्पनी, बझाङको तलकोटमा दुई अर्ब ९१ पुँजीमा ११ दशमलव पाँच मेगावाट विद्युत उत्पादन गर्ने गरी ओमेगा इनर्जी प्राली दर्ता भएको छ।

कैलालीमा ५३ करोड पुँजीको उग्रतारा स्टील इण्डष्ट्रिज प्राली, कञ्चनपुरमा १० करोड पुँजीको चार तारे होटल डायमण्ड प्यालेस, कञ्चनपुरमै पाँच करोड पुँजीको हिरोईन अटो इलेक्ट्रोनिक इन्डष्ट्री, दार्चुलामा ९८ लाख पुँजीको मिनिरल रिजभ्र्स प्राली र कैलालीको जानकी गाउँपालिकामा ३१ लख पुँजीको बाबुस बुम प्राली उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा उल्लेख छ। विभागमा दर्ता भएका मध्ये केही उद्योग गत वर्ष नै सञ्चालनमा आईसकेका छन् भने केही उद्योग प्रक्रियामा रहेका छन्।

ती उद्योगबाट स्थानीय स्तरमा छ सय जनाले रोजगारी पाउने दावी गरिएको छ। स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्दै प्रदेशको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले उद्योग दर्ता गरी सञ्चालनमा ल्याउने तयारी भएको लगानीकर्ताहरुले बताएका छन्।  होटल डायमण्ड प्यालेस प्राली कञ्चनपुरका व्यवस्थापक अरुण शाहीले गतवर्षदेखि नै क्यासिनो सञ्चालनमा ल्याईएको बताए।

उनले होटल सञ्चालनमा  ल्याउन केही समय लाग्ने तर अहिले आन्तरिक व्यवस्थापनका काम चलिरहेको जानकारी दिए। शाहीले उद्योगबाट स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने बताए। उनले दिनेश खबरसँग भने, ‘क्यासिनोमा अहिले एक सय ५० जनाले क्यासिनोमा रोजगारी पाएका छन्, भोली सोही हाराहारीमा होटलमा पाउनेछन्।’

उद्योग विभागमा दर्ता भएर वार्षिक २१ हजार टन खरी उत्खन्न गरी निर्यात गर्ने लक्ष्य सहित जियो मिनिरल रिजभ्र्स प्रालीले गत वर्षदेखि नै उद्योग सञ्चालनमा  ल्याईसकेको छ। प्रालीले दाचुलाको दुहु गाउँपालिका वडा नम्बर ५ मा सञ्चालन गरिएको खानीबाट गत वर्ष भने पाँच सय ७० टन खरी उत्खन्न गर्दै भारत निर्यात गरिएको छ।

उद्योगले स्थानीय स्तरमा रोजगारी अवसर सिर्जना गरेको भएपनि भौतिक पूर्वाधारको विकास नहुदा समस्या भएको गुनासो गरिएको छ। जसका कारण लगानी अनुसारको प्रतिफल हासिल गर्न नसकिने चिन्ता गरिएको छ भने सरकारले  पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने सुझाव दिईएको छ।

जियो मिनिरल रिजभ्र्स प्रालीका सञ्चालक सुरज भट्टले वार्षिक २१ हजार टन खरी उत्खन्न गरी निर्यात गर्ने लक्ष्य लिएर उद्योग सञ्चालनमा ल्याईएको बताए। गत वर्ष पाँच सय ७० टन खरी उत्खन्न गरी निर्यात गरिएको तर सडक नबनेका कारण समस्या हुने देखिएको बताए।

भट्टले पूर्वाधारको विकास नभएका स्थानमा उद्योग सञ्चालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै दिनेश खबरसँग भने,‘पूर्वाधार नभएका ठाउँमा उद्योग सञ्चालन गर्न निकै समस्या छ, यसपाली सडक बनेन भने हामीले काम नै रोक्नुपर्ने अवस्था छ।’ पूर्वाधारको विकास नभए लगानी अनुसारको प्रतिफल पाउन कठिन हुने भट्टको गुनासो छ।  

प्रदेशमा दर्ता भई सञ्चालनको तयारीमा रहेको उद्योगले प्रदेशको आर्थिक समृद्धिमा टेवा पुगाउने अपेक्षा गरिएको छ। तर पूर्वाधार विकास नहुदा विस्थापीत हुने त होईन भन्ने आशंका व्यक्त गरिएको छ। उद्योग खुल्न राम्रो पक्ष भएपनि नीजि क्षेत्र र राज्य स्तरबाट   लगानीको उचित व्यवस्थापन भए मात्रै आर्थिक समृद्धि हासिल हुने भनाई समेत व्यक्त भएका छन्।

कैलाली बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषय अध्यापन गराउदै आएका उपप्रध्यापक गगन घिमिरे उद्योग धन्दा खुल्नुबाट विकासको पथमा अगाडी बढ्नु भन्ने मानिने तर उद्योगले के–कती रोजगारी दिए र कतिको उत्पादनमुलक हुन् त्यसले महत्व राख्ने बताए।

प्रदेशमा नीजि क्षेत्रको लगानीमा सञ्चालनको तयारीमा रहेका उद्योगबाट बढि भन्दा बढि फाईदा लिन पूर्वाधार विकासमा विशेष जोड दिन आग्रह गरिएको छ। स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना भई विदेशिनुपर्ने बाध्यताको पनि अन्त्य गर्न सकिने विश्वास लिईएको छ। त्यसका  लागि स्थानीय, प्रदेश र संघिय सरकारले समेत लगानीको उचित वातावरण बनाउन अग्रसरता देखाउनुपर्ने सुझाव दिईएको छ। 
 

  
 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस