बैतडीमा निर्वाचन अधिकृत तोकिए
बैतडी–आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा पनि निर्वाचनको माहोल तातेको छ। विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको टुङ्गो लगाउँदै छन् भने जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो आन्तरिक तयारी थालेको छ।
निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत समेत तोकेको छ। जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ। यसका साथै टेकबहादुर थापा र टेकराज जोशी निर्वाचन अधिकृत नियुक्त गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृत रहेका भण्डारीलाई सुर्नयामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो भने दोगडाकेदारमा टेकबहादुर थापा र पुर्चौडीमा टेकराज जोशीलाई निर्वाचन अधिकृत तोकिएको हो।
बैतडीको दोगडाकेदार गाउँपालिका–४, पुर्चाैडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ का उपनिर्वाचन हुँदैछ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएसँगै कात्तिक २० गते सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनसम्बन्धी गतिविधि अगाडि बढाउने भएका छन्।
यसैबीच उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले तीनवटै वडामा आफ्ना उम्मेदवार छनोट गरिसकेको छ भने नेपाली काङ्ग्रेसले दोगडाकेदार–४ मा मात्रै आफ्ना उम्मेदवार सिफारिस गरेको छ। यसका साथै अन्य साना दलले पनि उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन्। रासस