बाजुरामा उत्पादन भएको सात सय क्विन्टल स्याउ बिक्री
कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६ सय क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७ सय क्विन्टल स्याउ बिक्री गरेको छ। केन्द्रले दिएको राहत अनुदानभन्दा एक सय क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए।
मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण झन्डै एक करोडभन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो। यसै समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले पहिलोपटक स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको छ। बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर र बाँकी केही मात्र आम्दानी गर्ने किसानको समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको हो।
जसले ढुवानीका रु १३ देखि ५० मा बारीको स्याउ खरीद गरी बाजुरा जिल्लालगायत काठमाडौँ, चितवन, धनगढी, नेपालगञ्जसम्म पुगेर बिक्री भइसकेको ज्ञान केन्द्र बाजुरा जनाएको छ। ७ सय क्विन्टल स्याउ बिक्रीबाट रु ५६ लाख बराबरको आर्थिक कारोवार भएको केन्द्र जनाएको छ।
यो वर्ष माथिल्लो क्षेत्रका पाण्डुसैन, स्वामिकात्तिक र जग्गनाथको स्याउ सङ्कलन गरी बिक्री गरिएको कोशेलीघर बाजुराका अमर खड्काले बताए। सङ्कलन र बिक्रीका लागि तीन सहकारी र एउटा अपुसा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले जिम्मा लिएको थियो। बाजुराको अग्र्यानिक स्याउ नाम दिएर बजारमा आएको स्याउले अपेक्षाभन्दा बढी आम्दानी भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
पछिल्लो समयमा कृषि ज्ञान केन्द्र बाजुरा ढुवानी अनुदान कटाएपछि भने स्याउको मूल्य बढेर आएको कोशेलीघर बाजुराका खड्काले बताए। कृषि ज्ञान केन्द्र बाजुराले अनुदान दिएको बेला स्याउको मूल्य मार्तडीमा रु ७५ ए ग्रेड, ७० बी ग्रेड र ६५ सी गे्रडमा पाइन्थ्यो भने अहिले सहकारीमार्फत् ढुवानी गर्दा रु ९० देखि ११० सम्ममा बिक्री वितरण भइरहेको छ।
बाजुराको कागती काठमाडौँमा
बाजुराको कागती काठमाडौँ पुग्ने भएको छ। बाजुराको अग्र्यानिक कागती पहिलोपटक रु ९० केजीका दरले १० क्विन्टल काठमाडौँ पुग्ने भएको हो। गोलपान एग्रो कम्पनीमार्फत बजारीकरण हुने कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोविन्द्र सिजापतिले बताए। अहिले पहिलोपटक १०० क्विन्टल मात्र कम्पनीसँग सम्झौता भएको उनको भनाइ छ। पहिलोपटकको सम्झौताअनुसार कागती खपत भए अर्को पटक जिल्लाभरिको कागती खपत गर्न गोलपान एग्रो कम्पनीसँग सम्झौता हुने समझदारी भएको ज्ञान केन्द्र बाजुराले जनाएको छ। रासस