सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बुढीतोलामा भ्यू टावर निर्माणको कार्य तीन महिनादेखि ठप्प

२०७६ कार्तिक ६, ०६:४४ नवराज पनेरु

कैलालीको बुढीतोलामा भ्यू टावर निर्माणको कार्य तीन महिनादेखि ठप्प रहेको छ। नयाँ आर्थिक बर्ष सुरु भएसंगै भ्यू टावरको निर्माण कार्य ठप्प भएको हो। पर्यटन विभाग अन्तरगत पर्यटन कार्यालय कोहलपुरले गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर राख्नका लागि बातावरणीय प्रभाव मुल्याङकन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि गत आर्थिक बर्षदेखि निर्माण सुरु गरिएको थियो।

‘भ्यू टावर निर्माणका लागि २०७६ साल जेठ ३ गते हामीसंग सम्झौता भयो,’ भ्यू टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर खत्रीले भने, ‘दुई महिना सम्म निर्माण कार्य भएपनि पछिल्लो तीन महिनादेखि भने काम रोकिएको छ।’ 
गत आर्थिक बर्षमा भ्यू टावरका लागि ९ लाख बजेट विनियोजन भएकोमा आर्थिक बर्षको अन्त्यमा आएर मात्रै सम्झौता भएपछि एक लाख ७३ हजार ५ सयको मात्रै काम हुन सकेको उनले बताए। 

‘चालु आर्थिक बर्ष सुरु भएपछि नयाँ सम्झौता गर्नुपर्ने भएपनि अहिले सम्म सम्झौता हुन नसक्दा भ्यू टावर निर्माणको कार्य रोकिएको हो। पहिलो सम्झौताको तीन बर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बजेज समयमै उपलव्ध भए हामी दुई बर्ष भित्रै निर्माण सम्पन्न गर्ने तयारीमा छौ।’ उनले भने। 

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई मार्फत भ्यू टावर निर्माणको कार्य सुरु गरिएको थियो। चालु बर्षमा पनि अहिले सम्म नयाँ सम्झौता नभएपछि विनियोजित बजेट खर्च हुनेमा आशंका थपिएको छ।

झण्डै ४ बर्ष अगाडी सो स्थानमा भ्यू टावर निर्माण गर्दा एक करोड ७० लाख लागत लाग्ने अनुमाग गरिएको थियो। अव सोही भ्यू टावर निर्माण गर्दा लागत झण्डै २० प्रतिशत बढेको छ। चालु आर्थिक बर्षमा उक्त भ्यू टावर निर्माणका लागि २५ लाख बजेट विनियोजन भएको प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले बताए।

उनले उक्त बजेट खर्च भए चालु बर्षमै पनि थप बजेट विनियोजन हुन सक्ने बताए। भ्यू टावर निर्माणको एकै पटक सम्झौता नभएर टुक्रा–टुक्रामा सम्झौता गरिने भएकाले उक्त बजेट कार्यान्वयनका लागि नयाँ सम्झौता गर्नुपर्नेछ।

यता प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाईका प्रुमख किशोर अर्यालले भने मन्त्रालयबाट बजेटको अख्तियारी आएपछि फेरी सम्झौता हुने र निर्माण कार्य अगाडी बढ्ने बताए। 

पर्यटन कार्यालय कोहलपुरको पहलमा संघीय सरकारको सस्कृती, पर्यटन तथा नागरीक उड्यान मन्त्रालयको पर्यटन विभागले २०७४ असार २० गते गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर निर्माण गर्न बातावरणीय प्रभाव मूल्याङकन स्वीकृत गरिसकेको थियो। सोही योजना प्रदेश सरकारलाई हस्तान्तरण भएपछि भ्यू टावरको निर्माण सुरु गरिएको हो।

गत आर्थिक बर्षमा चुरे गाउँपालिका वडा नम्वर ५ कम्पासे धुरामा भ्यू टावर बनाउने योजना राख्दै ३० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले उक्त योजना भने हटाईसकेको छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस