धनगढीमा राजस्व छलीको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरी हिरासतबाट अदालत लगियो
धनगढीमा राजस्व छली र विदेशी विनीमय विचलन गरेको मुद्दामा पक्राउ परेका बाबुछोरालाई प्रहरी हिरासतबाट अदालत लगिएको छ। धनगढीको शुभम् सुनचाँदी पसलका सञ्चालक सुशील कुमार राजपुत र उनका छोरा अतुल वर्माको बयान लिने कार्य नसकिएकाले आज पनि अदालत पेश गरिएको हो।
जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले राजस्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय कोहलपुरले दर्ता गरेको मुद्दामा सोमबार बयान नसकिएपछि हाजिर गराईएको जानकारी दिए।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतबाट अदालतमा उपस्थित गराई अहिले जिल्ला न्यायधिश जयानन्द पनेरुको इजलासमा बयान लिने काम भईरहेको श्रेस्तेदार गिरीले बताए। राजस्व अनुसन्धान विभागले कैलालीमा आठ करोड बराबरको बिगो माग दावी गर्दै उनीहरु विरुद्ध राजस्व छली र विदेशी विनीमय विचलनको मुद्दा दर्ता गरेको छ।
बाबुछोरा भारतीय नागरिक हुन्। प्रहरीले उनीहरुलाई गाडी, ठुलो मात्रामा भारतीय र नेपाली मुद्रा, मोवायल लगायतका सामान सहित पक्राउ गरेको थियो।
कैलाली प्रहरीले गत भदौँमा भारतबाट २९ लाख ८० हजार अवैध रकम ल्याउदै गर्दा अतुल बर्मालाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो।
अनुसन्धानका क्रममा बैँक खातामा समेत थप सात करोड ५१ लाख २८ हजार बराबरको कारोबार भएको देखिएको थियो। तर कारोबार र आम्दानीको अनुपात नमिलेपछि बाबुछोरा विरुद्ध नै मुद्दा दर्ता गरिएको थियो।
धनगढीमा सुनचाँदी व्यवसाय गर्ने बाबुछोरा विरुद्ध ८ करोड बिगो माग दावी गर्दै मुद्दा