धनगढीमा सुनचाँदी व्यवसाय गर्ने बाबुछोरा विरुद्ध ८ करोड बिगो माग दावी गर्दै मुद्दा
कैलालीमा आठ करोड बराबरको बिगो माग दावी सहित सुनको अवैध कारोबार गर्ने दुईजना भारतीय नागरिक विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय कोहलपुरले सोमबार जिल्ला अदालत कैलालीमा भारतको पलियाखिरी घर भएर हाल धनगढी बस्दै आएका सुशील कुमार राजपुत र उनका छोरा अतुल वर्मा विरुद्ध मुद्दा दर्ता गरेको हो।
जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले धनगढीमा सुनचाँदीको कारोबार गर्दै आएका दुवैजना विरुद्ध राजस्व चुहावट र विदेशी विनीमय अपचलनमा मुद्दा दर्ता भएको जानकारी दिए। गिरीका अनुसार गाडी, ठुलो मात्रामा भारतीय र नेपाली मुद्रा, मोवायल लगायतका सामान सहित पक्राउ परेका उनीहरुको खर्च अस्वभाविक देखिएपछि अनुसन्धान विभागले आठ करोड बिगो माग दावी गर्दै मुद्दा दर्ता गरेको हो।
उनीहरु धनगढीको शुभ्म सुनचाँदी पसलका सञ्चालक हुन्। दुवैजनाको आज जिल्ला न्यायधिश जयानन्द पनेरुको इजलासमा बयान लिने काम भईरहेको छ। श्रेस्तेदार गिरीले दुवैजनामाथि सुनचाँदीको चोरी पैठारी गरी राजस्व चुहावट गर्ने गरेको र स्रोत नखुल्ने मुद्रा समेत भेटिएपछि विदेशी विनिमय अपचलन गरेको दावी सहितको मुद्दा परेको हो।
दुईवटै मुद्दामा आठ करोड ६ लाख बिगो माग दावी गरिएको गिरीले बताए। राजस्व विभागले आम्दानीको तुलनामा दुवैजनाको बैँक खातामा रहेको रकम अस्वभाविक देखिएको दावी गरेको छ।
अदालतका अनुसार बैंक खातमा सात करोड ५१ लाख २८ हजार बराबरको कारोबार भएको देखिदा सो अनुसार राज्यलाई तिर्नुपर्ने २९ लाख ७९ हजार कर नतिरेको भन्दै राजस्व अनुसन्धान विभागले विगो माग दावी गरेको छ।