विदेशबाट फर्केर गाउँमै उद्यम
भारतमा ३५ वर्षे जागीरे जीवन बिताएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ। शर्माको सेवा निवृत्त जीवन बफुर्सदिलो छ। उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ। तीन वर्षअघि गाउँ फर्किएकाशर्माको दैनिकी पशुपक्षीको स्याहारसुसार र खेतीपातीमा बित्छ। कुनै बेला उजाड बनेको घरगोठ, खेतबारी उनी आएपछि हराभरा भएको छ। परम्परागत कृषिले व्यावसायिक रुप पाएको छ।
एक वर्षअघि ‘ऋमा पोल्ट्री फार्म’ खोलेर शर्माले व्यावसायिक कुखुरापालन शुरु गरेको छ। ‘फार्म’मा ‘लेयर्स’ जातका डेढ सय कुखुरा छन्। गाउँमा ताजा अण्डा उत्पादन गर्ने र बेच्ने उद्देश्यले कुखुरापालन शुरु गरेको उहाँको भनाइ थियो। कुखुरापालनमा रु. छ लाख बढी लगानी भएको छ। दुई आधुनिक खोर निर्माणमा मात्र रु पाँच लाख खर्च भएको शर्माले बताए। “दैनिक एक सय ३० देखि ४० सम्म अण्डा उत्पादन हुन्छ”, उनले भने, “एउटा अण्डा १२ रुपैयाँ ७० पैसा र क्रेट तीन सय ८० मा बिक्री भइरहेको छ।” अण्डाबाट मासिक रु ५५ हजारसम्म कारोबार हुन्छ।
खर्च कटाएर महीनामा २०÷२५ हजारसम्म नाफा निस्कने गरेको छ। कुखुरापालन व्यवसायलाई थप विस्तार गर्ने उनको योजना छ। “सबैले चिसो ठाउँमा कुखुरापालन हुँदैन भन्थे, मलाई गर्छ भनेर पत्याएका थिएनन”, उनले भने, “तर गरेपछि सम्भव हुँदो रहेछ, अहिले सबैले राम्रो काम ग¥र्यो भनेर प्रशंसा गर्छन्।”
कुखुरालाई चाहिने तापक्रम व्यवस्थापनका लागि आधुनिक तरिकाबाट खोर निर्माण गरिएको शर्माको भनाइ छ। ‘फार्म’मा उत्पादित अण्डा गाउँमै खपत हुने गरेको छ। शर्माले कुखुरासँगै बाख्रापालनलाई पनि अघि बढाएको छ। अहिले उनकोमा माउ र पाठापाठी गरी सात बाख्रा छन्।
बोका, खसी बिक्रीबाट पनि राम्रै आम्दानी हुने गरेको छ। गोठमा भैँसी र गोरु पनि छ। परिवारलाई चाहिने तरकारी बाहिर किन्नुपर्दैन, घरमै फल्छ। खेतबारीमा अन्नबालीको काम पनि शर्माले सम्हाल्दै आएका छन्। उनी जागिरमा विदेश हुँदा घरमा कोही पनि बस्दैनथे। श्रीमती रत्नादेवी शर्मा जागीरे र व्यवसायी छोराबुहारीसँग बागलुङ सदरमुकाम बस्थे। छोरीको भारतमै बिहे भइसकेको थियो।
शर्मा नेपाल फर्केपछि श्रीमती रत्नादेवी पनि गाउँ फर्के। दुवैजना मिलेर व्यावसायिक कृषि पेशातिर लागे। “जागीरबाट निस्केपछि छोराबुहारीले शहरतिरै बस्ने योजना बनाएका थिए”, शर्माले भने, “तर, मलाई गाउँ नै फर्कन मन लाग्यो, कृषितिरै मन गयो।” शर्माकी आमा पनि अहिले छोराबुहारीसँगै गाउँमै रमाएर बसेका छन्। आफ्नै गाउँघरमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण शर्मा बनेका छन्।
२२ वर्षको उमेरमा कामको खोजीमा भारत पुगेका उनले २५ वर्ष हैदरबादको टायर कम्पनीमा र १० वर्ष बाहिर काम गरेको थियो। बुबा घर फर्केर कृषिमा लागेपछि पेशाले स्वास्थ्यकर्मी छोरा ऋषिरामले पनि ‘फार्म’ व्यवस्थापनमा सघाउँदै आएका छन्। रासस