सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरिएन सुदूरपश्चिम सरकारको कार्यशैली, चालु वर्षको बजेट कार्यान्वयनमा ढिलाई

२०७६ कार्तिक २, १२:०० जनक विष्ट

आर्थिक वर्ष २०७४÷७५ को अल्पकालीन बजेट, २०७५÷७६ को पूर्णकालीन बजेटमा असारे विकासको परिपाटीलाई निरन्तरता दिएपछि आलोचित भएको सुदूरपश्चिम सरकारले चालु वर्षदेखि कार्यशैली फेरेर विकास निर्माणलाई तिव्रता दिने दावी गरेको थियो।

प्रदेश सरकारले तर विगतमा भए÷गरेका कमीकमजोरीलाई सच्याउँदै अर्ध मासिक, मासिक, त्रैमासिक कार्ययोजना नै बनाएर योजना र बजेट कार्यान्वयनमा विशेष जोड दिने भनेको थियो। तर उक्त दावी घोषणमै सीमित भएपछि पूरानै ढिपीमा सरकार चलिरहेको आरोप लागेको छ।

चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोडको बजेट ल्याईएको प्रदेश सरकारले पहिलो तीन महिना ख्याल ख्यालमै बिताएको भन्दै आलोचना भएको छ। भौतिक पूर्वाधार तर्फ मात्र झण्डै साढे नौ अर्ब बजेट राखिएकोमा योजना कार्यान्वयनमा जान सकेका छैनन्। पूरानै शैलीमा काम गर्दा तीन महिना सम्म भौतिक पूर्वाधार तर्फका योजनामा अपेक्षाकृत प्रगती हुन नसकेको देखिन्छ।

चालु वर्षको बजेटमा समावेश भएका योजना कार्यान्वयनमा लैजानु पूर्वका आवश्यक प्रक्रिया मन्त्रालयहरुले पूरा गर्न सकेका छैनन्। भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहोराले पहिलो चौमासिक समिक्षा कात्तिक अन्तमा हुने उल्लेख गरे। उनले विषयगत कार्यालयलाई बोलाएर आन्तरिक समिक्षा गर्दै कामलाई तिव्रता दिन आग्रह गरिएको दावी गर्दै सशर्त तर्फका योजनाको अख्तियारी तिहार अगाडी नै प्रदान गरिसक्ने बताए।

‘क्रमागत योजनामा भने काम सुरु भईसक्यो, बहुवर्षे तर्फ पनि ठेक्का सम्झौता गर्न बाँकी रहेका योजनामा तिहार सम्म ठेक्का हुन्छ।’मन्त्री बोहोराले दिनेश खबरलाई भने। ‘नयाँको हकमा केही योजना छनौट गर्न बाँकी छ। ’ मन्त्रालयले कतिपय कार्यक्रममा अहिले सम्म अख्तियारी समेत नदिएको देखिएंको छ।

यद्यपी क्रमागत तर्फका अधिकांश योजनामा ठेक्का सम्झौता भईसकेको दावी गरिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि चालु आर्थिक वर्षका तीन महिना सम्म बजेट कार्यान्वनमा लैजान नसकेको देखिएको छ। मन्त्रालयले बहुवर्षीय र क्रमागत बाहेकका योजनामा कार्यान्वयन अघिका चरण अन्तीम चरणमा रहेकाले छिट्टै तिव्रता दिईने जिकिर गरेको छ। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी झंकर विष्टले केही प्राविधिक कर्मचारी नहुदा समस्या भएको बताए।

उनले प्राविधिक कर्मचारी नियुक्तीको प्रक्रिया पूरा गर्दै छिट्टै बजेट र योजना कार्यान्वयनमा लैजाने  दावी गरे। स्वास्थ्य तर्फका कार्यक्रम भने कार्यान्वयनमा गईसकेका छन्। प्रदेश सरकारले मन्त्रालगत कार्य प्रगतीको मासिक समिक्षा गर्दै कामलाई तिव्रता दिने भनी गरिएको दावी पनि दावीमै सीमित छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले अहिले आएर चौमासिक कार्य समिक्षा गरिने तत्काल कार्य प्रगती देखिने तथ्याङक नरहेको  जनाएको छ भने मन्त्रालयहरुले छुट्टाछुट्टै योजना बनाएर काम गरिरहेको दावी गरिएको छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको योजना अनुगमन तथा नतिजा व्यवस्थापन शाखाका शाखा अधिकृत नरेन्द्र शाहले सबै मन्त्रालयले आ–आफ्नो कार्ययोजना बनाई काम गरिरहेको जानकारी दिए। तर बजेट र योजनाको कार्यान्वयनमा भने प्रदेश सरकार गम्भीर नबनेको देखिएको दावी गरिएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस