सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र यूएईका श्रममन्त्रीबीच भेटवार्ता

। फोटो स्रोत ।
२०७६ असोज २९, ०४:२२ खबर संवाददाता

नेपाल र यूएईका श्रममन्त्रीबीच बुधवार यूएईमा भेटवार्ता भएको छ। बुधबारदेखि दुबईमा सुरु हुने मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलगमा सहभागी हुन मंगलबार यूएई गएका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उनका समकक्षी यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच आबुधाबीमा भेटवार्ता भएको हो।

भेटका क्रममा नेपालका तर्फबाट मन्त्री विष्टले नेपाली श्रमिकका समस्याका बारेमा चासो राखेका थिए। जवाफमा नेपाली श्रमिकका विषयमा यूएई गम्भीर र सुधारका प्रयासमा सकारात्मक भएको बताइएको छ। मन्त्री विष्टले यूएईसँगको श्रम सम्झौता कार्यान्वयन सम्बन्धमा नोभेम्बर पहिलो हप्ता दुई देशका संयुक्त कार्य समितिको बैठक नेपालमा बस्ने गरी  सहमति भएको बताए।

मन्त्री हम्लीले नेपाल र नेपालीले यूएईलाई दिएको योगदानको प्रशंसा गर्दै द्विदेशीय सम्बन्ध विकासमा यूएई प्रतिबद्ध रहेको बताउँदै सहयोग र सहकार्य गर्ने जनाए। भेटघाटमा दुई देशका मन्त्रीसहित, श्रम मन्त्रालयका सचिव बिनोद केसी र राजदूत कृष्णप्रसाद ढकाल पनि सहभागी भएको नेपाली दूतावास आबुधाबीकी उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले बताए।

कमेन्ट लोड गर्नुस