कैलाली प्रहरीले डेढ लाख असुलेर भारतबाट अवैध माछा ओसार्नेलाई छोडेको आरोप
कैलाली प्रहरीले विचौलियाको सहयोगमा डेढ लाख रुपैँया असुलेर भारतबाट अवैध माछा ल्याउदै गर्दा पक्राउ परेका व्यक्तिलाई छोडेको आरोप लागेको छ। प्रहरीले विचौलियाको सहयोगमा रकम असुलेर भारतबाट अवैध माछा ल्याउदै गरेको अवस्थामा सोमबार पक्राउ परेका भारतीय नागरिक अमर आली र कासिम आलीलाई छोडेको आरोप लागेको हो।
भारतको लखिमपुर घर भएका उनीहरु दुवै जनालाई दुई क्वीन्टल अवैध माछा सहित प्रहरीले सोमबार धनगढी उपमहानगरपालिकाको मिलन चौकबाट पक्राउ गरेको थियो। तर कैलाली प्रहरीले भने उक्त आरोप गलत भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले विचौलियाले रकम लिएको हल्लाका आधारमा सोधपुछ भईरहेको तर प्रहरीको कुनै संलग्नता नरहेको दावी गरे।
बस्नेतले पशु क्वारेन्टाईन लगायतको रहोबरमा माछा नष्ट गर्दै उनीहरुलाई क्वारेन्टाईनको जिम्मा लगाईएको दावी गरे। यस विषयमा थप कुरा पशु क्वारेन्टाईन कार्यालय संग बुझ्ने प्रयास गरिएपनि सम्पर्क नहुँदा कुनै प्रतिक्रिया प्राप्त गर्न सकिएको छैन्।