चित्रकलामा उदाउदै धनगढीका राजेन्द्र !
भनिन्छ, उमेरले व्यक्तिको कला र प्रतिभालाई छेक्दैन्। कयौँ व्यक्तिहरुले यो भनाईलाई प्रमाणित गरेर देखाईसकेका छ्रन्। धनगढीका राजेन्द्र भट्ट पनि तीनै मध्ये एक हुन्। सानै उमेरदेखि चित्रकलामा औँधी रुची राख्ने राजेन्द्र कलिलै उमेरमा परिपक्क चित्रकारको पहिचान बनाएका छन्। ९ वर्षको उमेरदेखि काटुन् कोर्न थालेका राजेन्द्र अहिले १९ वर्षका भए। तर उनी चाहेका चित्र, काटुन बनाउन, मान्छेलाई चित्रमा जस्ताको त्यस्तै उतार्नुमा सिपालु छन्।
स्कुल पढ्दा हुने प्रतियोगिताले भट्टलाई चित्रकलामा लाग्ने प्रेरणा मिल्दै गयो। धनगढीको स्टेपिङ स्टोन स्कुलमा कक्षा ५ मा पढ्ने बेला वार्षिकोत्सवमा भएको चित्रकला प्रतियोगितामा उनी प्रथम भए। ६ कक्षामा पढ्ने बेला प्याबसनको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा सहभागिता जनाउने अवसर राजेन्द्रले पाए।
बढिजसो काटुन बनाउन रुचाउने भट्टलाई १० कक्षा पढ्दै गरेका बेला कोरेको एउटा चित्रले प्रतिभालाई निरन्तरता दिने उर्जा थप्यो। त्यो चित्र कोरिसकेपछि सबैतीरबाट सकारात्मक प्रतिक्रिया पाएपछि नै उनले चित्रकलालाई निरन्तर अगाडी बढाउने सोच बनाए। राजेन्द्रले कोरेको पहिलो चित्र नेपाली अभिनेत्री केकी अधिकारीको थियो। भट्टको अभिनेत्री अधिकारीसंग त्यतिबेला चिनजान भने थिएन, अधिकारीको दिदी मार्फत आफूले कोरेको तस्बिर पठाएका थिए उनले।
केकीलाई जानकारी नदिएरै कोरेको तस्बिर पठाउँदा उनी निकै खुसी भएकी थिईन्। राजेन्द्रले भने,‘मैले बनाएको तस्बिर पठाईसकेपछि अभिनेत्री केकी अधिकारी निकै खुसी हुनुभयो, सकारात्मक प्रतिक्रिया पाए, त्यसले मलाई आफ्नो कलालाई निरन्तरता दिन मद्दत ग¥यो।’ धनगढीको नास्ट कलेजमा कम्प्युटर विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै गरेका राजेन्द्रले धेरै व्यक्तिका तस्बिर कोरिसकेका छन्।
झण्डै ८० प्रतिशत तस्बिर कलाकारकै बनाएको उनी बताउँछन्। उनले साथीभाई, आफन्तहरुलाई विशेष दिनमा शुभकामना दिनका लागि समेत तस्बिर कोर्ने गरेको बताए। अध्ययनका कारण चित्रकलालाई धेरै समय दिन नसकेपनि समाज, परिवार र साथीभाईबाट राम्रै सहयोग पाएका छन्।
सुरुका दिनमा एउटा तस्बिर बनाउन दुई÷तीन लाग्थ्यो तर अहिले उनले ७÷८ घण्टामै एउटा तस्बिर बनाउन सक्छन् उनले। पछिल्लो समय त उनले बनाएका चित्रहरु बिक्रि समेत हुन थालिसकेका छन्। माग पनि आउने गरेका छ। ‘अहिले म एउटा तस्बिर बनाए वापत १५ सयदेखि सात हजार सम्म लिने गर्छु।’ राजेन्द्रले भने।
राजेन्द्रले नेपाली चलचित्रका महानायक राजेश हमाल, नायक अनमोल केसी, पल शाह, नायिका केकी अधिकारी, आँचल शर्मा, प्रियंका कार्की, बर्षा रावत, श्रृखला खतिवडा हाँस्य कलाकार दिपकराज गिरी तथा सञ्चारकर्मी रवि लामिछाने लगायतका दर्जनौँ तस्बिर हुवहु बनाईसकेका छन्। यस्तै नेहा कक्कर, कपिल शर्मा, आशिस चन्चलानी लगायतका भारतीय कलाकारको समेत तस्बिर कोरिसकेका छन्।