सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंको टीका थापेपछि कर्मथलो फर्किने क्रम सुरु

२०७६ असोज २३, ०७:१२ रोशन भट्ट

कार्य क्षेत्रबाट दशैं मनाउन जन्मथलो पुगेकाहरु बडादशैको टीका थापेसँगै फर्किने क्रम सुरु भएको छ। विभिन्न कार्यमा संलग्नहरु आ–आफ्नो कार्यक्षेत्र जान थालेपछि बसपार्कमा यात्रुको घुईचो लाग्न थालेको छ। उच्च शिक्षा अध्ययनको लागि पनि जिल्ला छोड्नेको संख्या बढ्न थालेको छ। धनगढीबाट काठमाडौं जादै गरेका हेमन्तराज जोशीले कामको सिलसिलामा गईरहेको बताए।

दशैं तिहारको अवधीभर वस्ने रहर भएपनि कामको लागि जानुपर्ने बाध्यता रहेको बताए। धेरै जसोको बस्ती दुई ठाउँ भएकाले एउटा ठाउँमा  टीका  लगाएर अर्को ठाउँ जानेहरुको संख्या पनि त्यतिकै छ। बीहिवारदेखि सरकारी कार्यालय पनि खुलेपछि कामकै लागि नै कार्य क्षेत्र काभ्रे जान लागेको धनगढीका टेक बमले बताए।

माध्यमिक तहको पढाई सकेका अधिकासं विद्यार्थीहरु समेत उच्च शिक्षा अध्ययनको लागि धनगढीबाट काठमाडौं अथवा अन्य सहरमा जाने क्रम सुरु भएको छ। विद्यार्थी भर्ना सुरु भईसकेकाले पनि आफ्नो भर्ना छुट्छ की भन्ने पिरले धेरै जसो विद्यार्थीहरु जिल्ला छोड्न हतार गरिरहेका छन्।

दशैंको पहिलो र दोस्रो दिन जिल्ला छोड्नेको संख्या सामान्य नै भएपनि तेस्रो दिन देखि भने चाप बढेको प्रदेश ट्रफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक मोहन साउँदले बताए। यस्तै धनगढी घर भएकाहरु बहिर जाने क्रम सुरु भएसंगै धनगढी कर्मथलो भएकाहरु पनि धनगढी फर्किने क्रम सुरु भएको छ। यसले वजारमा चहलपहल पनि बढाएको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस