कैलाली कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
कैलाली कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। २०७४ सालदेखि कैदीबन्दी व्यवस्थापनका लागि नयाँ भवन निर्माण हुने चर्चा चलेपनि प्रक्रिया अगाडी बढ्न सकेको छैन् तर वर्षेनी कैदीबन्दीको संख्या बृद्धि हुदा समस्या भएको हो। कैलाली कारागारका निमित्त जेलर टेकबहादुर किमाडीले एक सय ५० जनाको क्षमता रहेकोमा अहिले पाँच सय दुईजना कैदीबन्दीलाई व्यवस्थापन गरिएको जनाए।
उनले विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका तीन सय चारजना कैदी, एक सय ९३ बन्दी र पाँचजना आश्रीत नाबालक रहेको जानकारी दिदै व्यवस्थापनमा जटिलता थपिएको बताए। दशैँ अगाडी मात्र जिल्ला अदालत कैलालीले १७ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। कैदीबन्दीलाई अहिले टीनको छानो, टेन्ट तथा भान्छाकोठामा बसोबासको व्यवस्था मिलाईएको छ।
कोचाकोच गरी बस्नुपर्दा कैदीबन्दीहरुमा सरुवा रोगको संक्रमण समेत फैलिने गरेको छ। २०७४ साल पुषमा कारागार व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा सुदूरपश्चिमका कारागारको अनुगमनमा आएको टोलीले कैलाली कारागारको स्तरोन्नति सहित सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि ५० लाख बजेट वीनियोजन गरिएको जनाएको थियो।
२०७५ साल भित्रै भवनको निर्माण कार्य सुरु हुने दावी गरिएपनि अहिले सम्म आवश्यक प्रक्रिया अगाडी बढ्न सकेको छैन्। निमित्त जेलर किमाडीले विभागमा स्टमेट बनाएर पठाईएको भएपनि अन्य प्रक्रिया अगाडी नबढेको बताए। भवन अभावमा कैलाली कारागारले वषौँदेखी कैदीबन्दी व्यवस्थापनमा जटिलता खेप्दै आएको छ।