सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका किसानलाई धान भित्र्याउने चटारो, यो बर्ष उत्पादन घट्ने

२०७६ असोज २२, ०५:०८ खबर संवाददाता

दशैँको रौनक कायमै भएपनि सुदूरपश्चिम प्रदेशका किसानलाई धान काट्न भ्याइनभ्याइ छ। दोश्रो ठूलो चाड तिहार अगाडी नै भित्र्याईसक्ने लक्ष्यका साथ किसान धान काट्न जुटेका हुन्।

‘यसपालि आवश्यक पानी नपरेपनि केही क्षेत्रमा धान राम्रो फलेको छ,’ डडेल्धुरा जोगवुढाका किसान खगेन्द्र साउदले भने, ‘भित्र्याउने बेला वर्षा नरोकिएकाले समस्या भएको छ।’ दशैँको समयमा पनि धान काट्ने क्रम भने जारी रहेको उनले बताए। दशैँ सुरु हुन अगाडी देखि नै धान भित्र्याउने चटारोले किसानको व्यस्तता बढेको हो।

अहिले डडेल्धुरा जिल्लाका अधिकासं किसान धान काट्ने, चुट्ने, सुकाउने र पराल थन्याउने लगायत काममा व्यस्त रहेको गन्यापधुरा गाउँपालिकाका स्थानीय तेजराज कापडीले बताए। ‘दशैँका लागि काम विशेषले बाहिरिएकाहरु पनि घर फर्किएका छन्,’ उनले भने, ‘धान काट्ने र भित्र्याउने समय पनि भएकाले सबै व्यस्त छन्।’ यसअघि धान खेती गरेर रोजगारीका लागि भारत छिरेका सुदूरपश्चिमेलीहरु पनि दशैँको मौकामा धान भित्र्याउन घर फर्किएका छन्।

यता प्रदेशको भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने यो बर्ष धानको उत्पादनमा कमी आउने जनाएको छ। भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ वागवानी विकास अधिकृत खगेन्द्र शर्माले प्रदेशभरी एक लाख ८१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा खेतीको समयमा पानी नपरेका कारण उत्पादनमा कमी आउने बताए।

‘रोपाईको समयमा आकासे पानी पर्याप्त परेन्, धान हुर्किने समयमा पनि आकासे पानीको अभाव भयो’ उनले भने, ‘सवै क्षेत्रमा सिँचाईको समेत सुविधा नहुँदा उत्पादनमा केही प्रतिशतले कमी आउने देखिएको छ।’ उनका अनुसार यो बर्ष किसानले लगाएको गरिमा जातको धानमा अहिले सम्म वाला नलाग्दा झनै समस्या भएको बताए। गरिमा जातको धानमा वाला नलागेपछि प्रदेशको कृषि निर्देशानालयले अध्ययन गर्दै प्रतिवेदन तयार पारेको छ। किसानलाई सरकारी स्तरबाट क्षतीपुर्ती दिने वा व्यवसायीले नै दिने विषयमा केही दिन टुङगो लाग्ने छ।

कमेन्ट लोड गर्नुस