सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमवासीलाई प्रहरी प्रशासनले भन्यो : ढुक्कसंग दशैँ मनाउनुस

२०७६ असोज २०, १०:३२ नवराज पनेरु

हिन्दु नेपालीहरुको महान चाड विजयादशमीमा हुन सक्ने संभावित अपराधिक घटना रोक्नका लागि सुदूरपश्चिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेशका सवै जिल्लाहरुमा सम्भावित जोखीमहरुको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले चाडपर्वमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न एकीकृत सुरक्षा योजना लागु गरिसकेको जनाएको छ।

‘दशैँका लागि सुरक्षा सतर्कता बढाईएकोले ढुक्कसँग दशैं मनाउँदा हुन्छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख तथा प्रहरी नायव महानिरिक्षक तारणी प्रशाद लम्सालले भने, ‘गस्ती बढाईएको छ भने संवेदनशील स्थानमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ।’

तराईका जिल्लामा साइकल गस्तीदेखि हतियार सहितका सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै उनले सवारी साधन पुग्न नसकेका पहाडी जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई पैदल गस्तीमा खटाईएको बताए।

सीमावर्ती जिल्लाहरुमा हुन सक्ने सम्भावित अपराधिक गतिविधि न्युनीकरण गर्दै भारतवाट घर फर्किने नेपालीहरुलाई सहज रुपमा गन्तव्य पुगाउन पनि प्रहरी चनाखो भएर लागेको प्रहरी नायव महानिरिक्षक लम्सालले बताए। 

प्रदेशको राजधानी रहेको जिल्ला कैलालीमा पनि सुरक्षा सतर्कता बढाईएको छ। ‘एकिकृत सुरक्षा योजना लागु भईसकेको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘दशैँ मनाउन सर्वधारणलाई कुनै समस्या नहोस भन्नकै लागि सुरक्षा सतर्कता पनि बढाएका छौँ।’

प्रमुख जिल्ला अधिकारी बोहराले चाडपर्वमा अप्रिय घटना हुन नदिन तीन वटै सुरक्षा निकायको समन्वयमा एकिकृत सुरक्षा योजना लागु भएको बताए। ‘सीमा क्षेत्रमा आवागमन सहजका लागि सयुक्त सहायता कक्ष बनाईएको छ, बसपार्कहरुमा पनि यात्रुका सहजताका लागि सहायता कक्ष स्थापना गरिएको छ।’ प्रमुख जिल्ला अधिकारी बोहराले भने। 

कैलाली प्रहरीका अनुसार चाडपर्वका वेला हुनसक्ने विभिन्न घटनाहरुलाई मध्यनजर गरेर बजार क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रहरुमा पनि सुरक्षा सर्तकता कडा पारिएको छ। ‘दशैंका बेला शहरमा रहेको डेरा वा घरमा तालाचाबी ठोकेर गाउँतिर जाने चलन बढी छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘यस्तो समयमा घर छोड्दा छिमेकी र नजिकको प्रहरी युनिटलाई जानकारी दिन आवश्यक हुन्छ।’

दशैंका बेला कोठामा चाबी ठोकेर घरतिर जाँदा फेसबुक लगायत सामाजिक सञ्जालमा लेखेर नहिँड्न पनि उनले आग्रह गरे।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस