सुदूर नेपाललाई विश्वसँग जोड्दै

आवश्यक टावर निर्माण नहुँदा कैलाली, कञ्चनपुरमा फोरजी सेवा प्रभावकारी भएन

२०७६ असोज १७, ०७:०२ नवराज पनेरु

आवश्यकता अनुसार टावर निर्माण नहुँदा कैलाली र कञ्चनपुरका विभिन्न सरहमा सञ्चालन गरिएको फोरजी सेवामा समस्या देखिएको छ। नेपाल टेलिकमले सुदूरपश्चिममा पनि बुधवारदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको थियो तर सेवा प्रभावकारी नभएको भन्दै सेवाग्राहीले गुनासो गर्न थालेका हुन्।

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका १२ वटा सहरमा फोरजी सेवा सुरु भएको थियो। तर फोरजी सेवा सञ्चालन आएपनि ईन्टरनेटको गतीमा भने सुधार नआएको गुनासो सेवाग्राहीको छ। 

धनगढीका मनोज शाहले फोरजी सेवा सञ्चालन गरिएपनि टेलिकमले भने जस्तै उच्च गतीमा ईन्टरनेट नचलेको गुनासो गरे। उनले निश्चित समयका लागि मात्रै फोरजी सञ्चालन हुने र पछि ईन्टरनेट नै नचल्ने समस्या रहेको बताए। उता अत्तरियाका रोहित भट्टले पनि फोरजी सेवा सुरु भए ईन्टरनेटको गतिमा सुधार आउने अपेक्षा भएपनि गतीमा सुधार नआएको बताए। 

यता नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले अहिले प्रत्येक सहरमा बढिमा दुई वटा मात्रै टावर निर्माण भएकोले सहरभरी नै फोरजी सञ्चालन नहुन पनि सक्ने बताए। ‘अहिले सम्म कैलालीमा १० र कञ्चनपुरमा २ वटा मात्रै फोरजी टावर निर्माण भएका छन्,’ उनले भने, ‘एउटै सहरमा १० वटा सम्म टावर आवश्यक देखिएकोले फोरजी सेवा अहिले नै सहर भरी सञ्चालन हुन नहुन पनि सक्छ।’

उनका अनुसार धनगढीमा दुरसञ्चार कार्यालय र चटकपुर, फुलवारी, पच्चिसघर, अत्तरिया, चौमला, मसुरीया, टीकापुर, लम्की, सुख्खड तथा कञ्चनपुरमा दुर सञ्चार कार्यालय र झलारीमा मात्रै निर्माण भएका टावरबाट फोरजी सेवा सुरु गरिएको छ। ‘प्रदेशभरी थप साढे तीन सय वटा टावर निर्माण भईरहेकाले सबै टावरको निर्माण सम्पन्न भएमात्रै फोरजी सेवा प्रभावकारी हुने छ।’ उनले भने। 

सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको सेवा सुरु गर्ने लक्ष्य अनुसार मुख्य सहरमा टावर निर्माण गरिएको बताउँदै उनले अन्य क्षेत्रमा पनि टावर निर्माणको कार्य तिव्र गतीमा भईरहेको बताए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस