सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका सिडिओ सुनारको सरुवापछि फेरी डोजर आतंक सुरु

२०७६ असोज १५, ०४:१४ जनक विष्ट

बझाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको सरुवा पछि फेरी डोजर आतंक सुरु भएको छ। जिल्लामा जथाभावी प्रयोग भएका डोजर नियन्त्रण अभियान चलाएपछि केही समय पहिले मात्र राजनीतिक दबाबमा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनारको सरुवा गरिएपछि फेरी स्थानीय तहहरु जथाभावी सडक खन्न थालेका हुन्।

स्थानीय तहहरुले वर्षातका बेला पनि जथाभावी डोजर चलाएर सडक खन्दा यात्रुहरुले सास्ती खेप्नुपरेको छ। धनगढीबाट दशैँ मनाउन घर फर्किएका पत्रकार तेज बोहोराले बित्थडचिर गाउँपालिकाले वडा नम्बर २ का सडक विस्तारको नाममा डोजर चलाएपछि आएको पहिरोले यात्रुलाई सास्ती भएको बताए।

‘गाउँपालिकाले डोजर प्रयोग गरी विस्तार गरिरहेको लीम–कुसिना–मौभेरा सडक माथिबाट आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु समस्या भएको छ,’ उनले भने, ‘सडक माथिबाट आएको आएको पहिरोका कारण तीन घण्टा सडक अवरुद्ध भएको थियो।’ ‘तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जथाभावी डोजर प्रयोग गरी सडक खन्ने काम बन्द गराएका थिए तर उनको सरुवा भएपछि अहिले वर्षातको बेला पनि बझाङमा धमाधम डोजरले सडक खन्ने काम भईरहेको छ।’ उनले भने।

जिल्लामा विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन समेत नगरी स्थानीय तहले जथाभावी डोजर चलाएक छन्। तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनारले डोजर आतंक नियन्त्रणको अभिायन चलाएपछि केही समय स्थानीय तहहरुले सडक विस्तारको काम रोकेका थिए। तर सुनारको राजनीतिक दबाब र भनसुनका आधारमा सरुवा गराएर फेरी स्थानीय तहहरुले जथाभावी सडक खन्न सुरु गरेको स्थानीयको भनाई रहेको छ।

तर सुनारको सरुवापछि हालै बझाङको प्रमुख जिल्ला अधिकारी भएर आएका उमेश पाण्डेले भने जिल्लामा जथाभावी सडक खन्ने काम रोकिएको दावी गरे। उनले कुनै पनि स्थानीय तहले अहिले जथाभावी सडक विस्तार नगरेको बताउँदै आफूले सडक निर्माणका आधारभुत प्रक्रिया पूरा गर्न सबैलाई आग्रह गरेको जिकिर गरे। तर विगतमा ट्रयाक खुलीसकेका स्थानमा भने काम चलिरहेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ।

प्रमुख जिल्ला अधिकारीले यस्तो दावी गरेपनि वित्थडचिर गाउँपालिकाले मात्र अहिले चारवटा सडक विस्तारको काम गरिरहेको छ। ती सबै सडकमा नयाँ ट्रयाक खोल्ने काम भईरहेको छ। गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष मानबहादुर बोहोराले संघिय सरकारको समपूरक अनुदान अन्तरगत प्राप्त भएको बजेटबाट लीम–कुसिना–मौभेरा सहित चारवटा सडकको ट्रयाक खोल्ने काम चलिरहेको बताए।

उनले नरेन्द्र निर्माण सेवाले १३ किलोमिटरको लीम कुसिना मौभेरा सडक ९२ लाखमा निर्माण गरिरहेको बताए। कार्तीक भित्र योजना सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले वर्षातको समयमा पनि सडक विस्तारको काम जारी राखिएको वडा अध्यक्ष बोहोराको दावी थियो। जेठमा मात्र ठेक्का सम्झौता भएकाले निर्माण पनि ढिलो सुरु भएको दावी गरिएको छ।

यस्तै डोजरको प्रयोग गरी गाउँपालिकाले ९१ लाखमा ९ किलोमिटरको तिराशैनी बुंगल जोड्ने सडक, ९३ लाखमा ९ किलोमिटरको सुनकुडा धारी सडक र ९१ लाखको लागतमा ८ किलोमिटरको बित्थड खुलमौर नाना ओसईल हुदै शिगास जोड्ने सडकको नयाँ ट्रयाक विस्तार भईरहेको वडा अध्यक्ष बोहोराले बताए।

उनले ती सबै सडक २०७२ सालदेखि निर्माण थालिएकाले विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङन गरिएको दावी गरेका छन्। तर बझाङमा जनप्रतिनिधीकै सक्रियतामा आधारभुत प्रक्रिया समेत पूरा नगरी विकासका नाममा जथाभावी खनिएका सडकले विनाश निम्त्याएको छ। जनप्रतिनिधी आएपछि अन्य पहाडी जिल्लामा पनि यस्तै अवस्था रहेको छ।

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस