सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बजार नपाएपछि किसानहरु खसीबोका काठमाडौँ, पोखरा निकासी गर्दै

२०७६ असोज १४, ०८:११ जनक विष्ट

दशैँका बेला समान्य समयको भन्दा बजारमा मासुको माग अत्यधिक हुने भएपनि सुदूरपश्चिमका  किसानहरुले भने विगतमा जस्तै बजार नपाएको गुनासो गरेका हुन्। प्रदेशको बैतडी, बझाङ, दार्चुला, अछाम लगायतका जिल्लाका किसानहरु यसवर्ष पनि गोठमा पालेको खसीबोका ट्रकमा हाल्दै बिक्रिका लागि काठमाडौँ, पोखरा लगायतका सहरतर्फ लागेका छन्।

बझाङबाट मात्र पछिल्लो चार दिनको अवधीमा एक हजार ८० खसी, बोका र भेडा लिएर १८ वटा ट्रक पूर्वी जिल्लातर्फ लागेका छन्। पशु सेवा विज्ञ केन्द्र बझाङका प्रमुख पशुपती नाथले जिल्लाको विभिन्न स्थानबाट किसानहरु खसीबोका बिक्रिका लागि काठमाडौँतर्फ लागेको जानकारी दिए।

उनले प्रति ट्रक ६० वटा खसीबोका, भेडाका दरले बझाङबाट चार दिन अघि मात्र १८ ट्रक निकासी भएको बताए।  बझाङबाट  खसी, बोका, भेडा सुदूरपश्चिम बाहिर निर्यात गरिन लागेको यो नै पहिलो वर्ष भने होईन्। बझाङका किसानहरुले प्रदेशको राजधानी धनगढी, अत्तरिया, महेन्द्रनगर लगायतका बजारमा उचित मूल्य नपाएपछि खसीबोको पूर्वी नेपाल तर्फ लैजान थालेको वषौँ बितिसकेको छ।

पूर्वी नेपाल र यहाँको मासुको बजार मूल्यमा आकाश पतालको फरक भएपछि किसानहरु प्रदेश बाहिर लगेर खसीबोका बिक्रि गर्नुपर्ने बाध्यता आईलागेको बताउँछन्। बझाङको साईपाल गाउँपालिकाका अध्यक्ष समेत रहेका किसान राजेन्द्र बहादुर धामीले धनगढी, महेन्द्रनगर सहितका बजारमा मूल्य व्यवस्थापनका लागि लामो समयदेखि प्रयास गरिदै आएपनि नसकिएको बताए।

उनले भने,‘२०६९ सालदेखि नै हामीले स्थानीय बजारमा मूल्य व्यवस्थापनका लागि पहल गर्दै आएका हौँ तर व्यवस्थान हुन नसक्दा पूर्वी नेपालमा निकासी गर्नुपर्ने बाध्यता छ।’ धनगढी भएर नै खसीबोका पूर्वी जिल्लातर्फ निर्यात गरिएपनि एउटा पनि बिक्रि नहुने समस्या रहेको उनले सुनाए।

‘यहाँ प्रतिकिलो पाँच सयदेखि बढिमा सात सय सम्ममा खरिद हुन्छ तर काठमाडौँ, पोखरा लगायतका सहरमा पु¥याउँदा प्रतिकिलो १३–१४ सय पर्न जान्छ।’ उनले भने, ‘त्यसैले बाहिर निकासी गर्न बाध्य भएका हौँ।’ किसानहरुले उचित मूल्य नपाएर मासुको अत्यधीक माग हुने बेला पनि प्रदेश बाहिर  खसीबोका निर्यात गर्नुपर्ने अवस्था रहेको बताएका बेला यस क्षेत्रका मासु व्यवसायीहरुले भने काठमाडौँ, पोखरा लगायतका सहरमा उच्च मूल्य हुँदा आफूहरु समस्यामा पर्ने गरेको जनाएका छन्।

उनीहरुले बजार मूल्य झण्डै दोब्बरले कम हुँदा सोही दररेटमा खसिबोका खरिद गर्न नसकिने हुँदा मासुका अत्यधिक मासुको माग हुने समयमा पनि समस्या हुँदै आएका बताएका हुन्। धनगढीका मासु व्यवसायी टीकाराम ढुङ्गानाले पूर्वी जिल्लाका सहरमा झण्डै दोब्बर बढि मूल्यमा मासु बिक्रि हुँदा आफूहरु समस्यामा परेको सुनाए।

उनले यहाँको बजारमा अहिलेकै मूल्यमा पनि मासु कटाउन समस्या हुने गरेको बताउँदै पूर्वी नेपालमा बढि मूल्य हुँदा खसीबोका पाउँनै मुस्कील पर्ने गरेको जनाए। दशैँको अष्टमी र नवमीका दिन वली चढाएर दशैमा मासु खाने चलन चलाएका हिन्दुहरुमा, आफन्त साथीभाईसँग रमाईलो गर्दै खसीको मासु खाने चलन रहेपनि दशैँको मुखमा खसी बोका बाहिर निर्यात हुन थालेपछि अभाव हुने संकेत देखिएको छ। तर प्रदेश सरकारले भने आन्तरिक उत्पादन पर्याप्त भएकाले दशैँमा मासुको अभाव नहुने दावी गरेको छ।

यद्यपी दशैँका बेला प्रदेशभरी कति मासुको आवश्यकता पर्छ भन्ने यकिन तथ्याङक भने प्रदेश सरकारसंग छैन्। प्रदेशको पशु निर्देशनालका प्रमुख मदनसिंह धामीले दशैँमा सुदूरपश्चिममा १० हजार खसीबोका आवश्यक पर्ने अनुमान गरिएको बताए। उनले यकिन तथ्याङ्क नभएपनि १० हजार खसीबोका आवश्यक पर्नेमा अहिले प्रदेशमा १० लाख खसीबोका रहेकाले मासुको अभाव नहुने दावी गरे। धनगढीमा अहिले खसिको मासु प्रतिकिलो आठ सयका दरले बिक्रि हुदै आएको छ भने पहाडी जिल्लामा तराईको भन्दा मूल्य अझ केही कम छ।  
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस